नुवाकोटको दुप्चेश्वर मन्दिरमा भक्तजनको घुइँचो

Posted on: 02 Dec, 2017

मङ्सिर १६, नुवाकोट । राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ । 

मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य छ । एकादशीदेखि नै शुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिनुभयो । 

राउतबेंसीका स्थानीयवासी बासे तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवान्लाई दूध चढाई बसेको स्थानलाई भक्तजनले वाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएका छन् । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वरको प्रख्याति छ । 

समुद्रमन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किंवदन्ती पनि छ । यहाँ धान्य पूर्णिमा र फागु पूर्णिमामा विशेष मेला लाग्ने गरेको छ । मेलामा तामाङ झाँक्री र तिनको ढ्याङ्ग्रो मुख्य आकर्षक रहन्छन् । 

दुप्चेश्वर गाउँपालिका–६ राउतबेंसीमा अवस्थित मन्दिरमा धान्य पूर्णिमाका अवसरमा एकादशीदेखि शुरु भएको मेला चतुदर्शीको रात र पूर्णिमाको दिन बिहान लाग्ने भए पनि सार्वजनिक बिदा परेकाले यस वर्ष शुक्रबार त्रयोदशीसम्म नै दर्शन र पूजाराधना गर्ने भक्तजनको सङ्ख्या ३० हजार पुगेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । 

गाउँपालिकाले कोष स्थापना गरी त्यसका अध्यक्षमा वडा नं ६ का वडाध्यक्ष किशोर आचार्य र संरक्षकमा गाउँपालिका अध्यक्ष योवीन्द्रसिंह तामाङ र उपाध्यक्षमा अञ्जु आचार्यलाई तोकेर जात्रा व्यवस्थापनमा क्रियाशील भएको छ । 

कोषका संरक्षक तामाङका अनुसार मन्दिरमा दर्शन गर्न पुग्ने भक्तजनलाई यातायात, स्वास्थ्य शिविर, विशेष पूजाको व्यवस्था, खाना र बासको सहजता मिलाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!