नुवाकोटको पञ्चकन्या मन्दिर संरक्षणको अभावमा जीर्ण

Posted on: 31 Jan, 2018
माघ १७, नुवाकोट | यहाँस्थित पञ्चकन्या मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 
मन्दिर कहिले निर्माण भएको भनेर यकिनका साथ भन्न नसकिए पनि विभिन्न चाडपर्व तथा शुभकार्यमा उक्त परिसरमा रहेका विभिन्न देवदेवीको पूजा गर्ने प्रचलन छ । डाँडामा रहेको उक्त मन्दिरको छानाको जस्ता चुहिने समस्या छ भने पर्खाल पनि जीर्ण बन्दै गएकाले चाँडो मर्मत गर्नुपर्ने देखिन्छ । लामो समयदेखि स्थानीय तहमा जनप्रतिनिधि नभएको हुँदा पनि यसको उचित व्यवस्थापन र संरक्षण हुन नसकेको स्थानीयवासी टेकबहादुर भण्डारीले बताउनुभयो । 
मन्दिर परिसरमा धनेश्वर महादेव, रणगम्भेश्वरी, तीनकन्या, बालकन्यालाई फूल, अक्षता र गाईको दूध चढाउने गरिन्छ भने सात कन्यालाई पञ्चबलि चढाइन्छ । 
प्रत्येक देवताका पूजा विधिलाई प्रक्रिया मिलाएर गरेमा मनोकाङ्क्षा पूरा हुने र विधि पूरा गर्न नसकिएमा अनिष्ट हुने जनविश्वास रहेको पञ्चकन्या–३ का पूर्व वडाअध्यक्ष राम थापाले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!