प्रादेशिक राजधानीका लागि पाँच जिल्ला प्रस्तावित, कुन कुन जिल्ला उपयुक्त ?

Posted on: 19 Aug, 2018

कृष्णराज गौतम, भदौ ३, काठमाडौँ । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो । 

प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई दृष्टिगत गरी समितिले ती १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने ठहर गरेको संयोजक निरौलाले जानकारी दिनुभयो । 

सम्बन्धित जिल्लाका विभिन्न राजनीतिक दल तथा नेताले राजधानी आ–आफ्नो जिल्लामा बनाउन प्रयत्न गरिरहेका छन् । असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन उक्त सभालाई बुझाइएको समिति सदस्य बसन्त मानन्धरले बताउनुभयो । 

संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने कार्य प्रदेशसभाको भनिए पनि नाम तोक्ने विषयमा उच्च अदालतमा मुद्दा परेका कारण छलफलको प्रक्रिया अगाडि बढ्न नसकेको समितिले जनाएको छ । 

भक्तपुर 

काठमाडौँको पूर्वी भागमा पर्ने भक्तपुरलाई भादगाउँ र ख्वःप समेत भनिन्छ । देशकै सबैभन्दा सानो जिल्लाका रुपमा परिचय बोकेको भक्तपुर करीब २०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । भादगाउँले टोपी र जुजु धौ (स्थानीय दही) को उत्पादनका लागि लोकप्रिय भक्तपुरमा नेवार, बाहुन, क्षेत्री र तामाङको बसोबास पाइन्छ । भक्तपुर नगरपालिका र मध्यपुर ठिमी नगरपालिका भक्तपुरमा छ । 

काभे्रपलाञ्चोक 

करीब एक हजार ४०० वर्ग किमी क्षेत्रफल रहेको पहाडी भूभागको काभ्रेपलान्चोकमा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका छन् । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, दाप्चा, नाल्दुम, चौकोटजस्ता बजार रहेका त्यहाँ पुरातात्विक महत्वका केही सम्पदास्थल पनि छन् । औद्योगिक महत्वका दृष्टिकोणले करिडोर स्थापनाका लागि अध्ययन भइरहेको काभे्रपलाञ्चोकको सदुरमुकाम धुलिखेल करीब २१ किमी पूर्वमा पर्छ । 

नुवाकोट 

काठमाडौँको उत्तर, पश्चिममा पर्ने पहाडी प्रदेश नुवाकोटमा उच्च पहाडी क्षेत्र तथा यत्रतत्र छरिएका समथर बेँशी र टारी खेत छन् । हिमाली क्षेत्र नजिक भौगोलिक विविधता रहेको नुवाकोटमा बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिका छ । उक्त जिल्लाको क्षेत्रफल एक हजार १२१ वर्ग किमी छ । तामाङ, नेवार, क्षेत्री, ब्राह्मण, मगर र दलित समुदायको बसोबास नुवाकोटमा नेपाली, तामाङ, नेवारी, मगर र शेर्पा भाषा प्रचलनमा छ । 

मकवानपुर 

मुलुकको तेस्रो ठूलो औद्योगिक जिल्लाका रूपमा लिइएको मकवानपुरको क्षेत्रफल दुई हजार ४२६ वर्ग किमी छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । मानव निर्मित ताल इन्द्रसरोवर, चिसापानीगढी र शहीद स्मारक यहाँको पर्यटकीयस्थलका रुपमा महत्वपूर्ण छ । उत्तरतर्फ करीब ६६ किमी लामो महाभारत शृङ्खला र दक्षिणतर्फ करीब ९२ किमी लामो चुरे पर्वतको काखमा रहेको मकवानपुर अहिले प्रदेश ३ को अस्थायी मुकामसमेत हो । 

हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका भएको यस क्षेत्रबाट तराई र पहाड दुबै नजिक पर्छन् । ब्राहम्ण, क्षेत्री, तामाङ, राई, नेवारको बसोबास पाइने मकवानपुरमा नेपाली, तामाङ, राई, मगर भाषा प्रचलित छन् । देशको पूर्व तथा पश्चिम भागलाई जोड्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग यो जिल्ला पार भएर जान्छ । 

चितवन 

करीब दुई हजार २३८ वर्ग किमी क्षेत्रफल रहेको चितवनमा करीब ९०० वर्ग किमी जमीन चितवन राष्ट्रिय निकुञ्जले ओगटेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० महत्वपूर्ण सम्पदामध्ये उक्त निकुञ्ज एक हो । गुरुङ, बाहुन, क्षेत्री, नेवार, थारू, दराई, चेपाङ, तामाङ, बोटे समुदायको बस्ती रहेको र नेपाली, थारू, चेपाङ, बोटे भाषा प्रचलनमा रहेको यहाँको नारायणी नदीको किनारस्थित चितवन तथा भरतपुर बजारलाई ठूलो बजारका रुपमा लिइन्छ । देशको मध्यपश्चिम क्षेत्रको महत्वपूर्ण व्यापारिक नगर भरतपुर हो । उत्तरी भागमा महाभारत पर्वत शृङ्खला रहेको चितवनमा भित्री मधेशका रुपमा रहेको भरतपुर महानगरपालिकासहित सात नगरपालिका छन् । 

प्रदेशको राजधानी र नामाकरण गर्न ढिला भएका कारण नीतिगत रूपमा कार्य सम्पादनमा समेत ढिलाइ भएको केही प्रदेशसभा सदस्यको भनाइ छ ।  (रासस) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!