नुवाकोटमा टिपरले किचेर एकजनाको मृत्यु

Posted on: 25 Sep, 2018

असोज ९, नुवाकोट | नुवाकोटको ओखरपौवामा गएराती टिपरले किचेर स्थानीय एक वृद्धको मृत्यु भएको छ | 

सदरमुकाम विदुरदेखि ५० किलामिटर पूर्वमा रहेको ककनी गाउँपालिका-२ सिसडोलमा टिपरले सोमबार राति बाटोमा हिँडिरहेका स्थानीय वृद्धलाई किच्दा घटनास्थलमै मृत्यु भएको हो | मृत्यु हुनेमा ककनी गापा - १ कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामी रहेका छन् | बलामीलाई सिसडोलबाट तिनपिप्लेतर्फ जाँदै गरेको वा३ ख ३७३० नम्बरको ढुंगा बोक्ने टिपरले ठक्कर दिएको थियो | उनको मृत्यु भएपछि आफन्त तथा स्थानीयले यातायात बन्द गर्नुका साथै तिनपिप्ले-सिसडोल सडकखण्ड ठप्प पारेका थिए।

घटनालगत्तै स्थानीयवासीले सडकमार्ग अवरुद्ध गरेपछि क्षतिपूर्ति दिने सहमतिपछि सडकमार्ग सुचारु गरिएको प्रहरीले नुवाकोटले जानकारी दिएको छ । 

क्षतिपूर्ति पाउने सहमति भएपछि मृतकको शव उठाएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम गरिएको छ । सहमतिपछि यातायात सुचारु भएको नुवाकोट प्रहरीले जनाएको छ । वृद्दको मृत्यु भएपछि मंगलबार दिनैभर नुवाकोटको सिसडोल क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका थिए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!