नुवाकोट दुर्घटना: ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिने

Posted on: 15 Dec, 2018

रामहरि न्यौपाने | मङ्सिर २९, बेत्रावती (रासस) | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी आज आफन्तलाई जिम्मा लगाइएको छ । 

दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँको अनुसार दुर्घटनाका क्रममा घटनास्थलमा १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा घटनास्थल नजिकै रामतीमा ज्यान गुमाएका थप एकजना गरी १९ जनाको शव आज आफन्तलाई जिम्मा लगाइएको हो । 

दुर्घटनामा परी घाइते भएकामध्ये उपचारका क्रममा एक जनाको काठमाडौँमा मृत्यु भएकाले शव ल्याउन बाँकी छ । दुर्घटनामा शिखरबेँसीका १८ वर्षीय रितेश पण्डितको आजै अन्तिम संस्कार गरे पनि बाँकी १९ जनाको बौद्धधर्म परम्परानुसार आइतबार सामूहिक अन्तिम संस्कार गर्न लागिएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । 

दुर्घटनामा एकै परिवारका पाँच जना परेका सुने लामा उनको भाइ लक्ष्मणको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएर काठमाडौँमा उपचाररत छन् । यसैगरी, टक्ले तामाङ उनको बुहारी बिबिमायाको दुर्घटनामा परी मृत्यु भएको छ भने बिबिमायाको नौ महिनाकी छोरी घाइते भएकाले काठमाडौँमा उपचारारत् छिन् । 

दुर्घटनामा घाइते भएका १५ जना घाइतेको काठमाडौँको शिक्षण अस्पताल, बिपी स्मृति अस्पताललगायतमा उपचार भइरहेको छ । 

दुप्चेश्वर गाँउपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु भन्ने स्थानतर्फ गइरहेको बा३ख ३९१३ नं. को मिनीट्रक शुक्रबार घ्याङडाँडा दुर्घटनामा भएको थियो । सिम्टाङस्थित आफन्त कहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी साँझ ५ बजे घ्याङडाँडाको मोहडामा उकालो नचढेपछि चालकले गाडी पछि हटाएर अघि बढाउने क्रममा दुर्घटना भएको घाइते कर्मा तामाङले बताउनुभयो । 

कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटनापश्चात पाँचसय मिटरभन्दा तल तादी खोलामा पुगेको थियो । दुर्घटनापश्चात गाडीका धनीसमेत रहेका चालक नुवाकोट महाकालीका रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार रहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति निकै भयानक भएकाले उद्धार एवम् उपचारमा स्थानीय बासिन्दाको सहयोगमा स्थानीय सरकार परिचालन भएको थियो । घाइतेका उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसमेत परिचालन भएको थियो । 

उपचारमा आर्थिक अभाव 

मिनीट्रक दुर्घटनापश्चात घाइतेको उपचारमा आर्थिक अभाव भएको छ । मिनीट्रकमा सवार यात्रुको बीमा नहुने र यातायात समितिमा समेत आवद्ध नहुँदा घाइतेलाई उपचारमा आर्थिक अभाव भएकाले नेपाल सरकारमार्फत निःशुल्क उपचारको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् । 

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले आज गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँ र प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई पत्र लेख्दै घाइते भएकाहरु भौगोलिक विकट स्थानका गरीब समुदायका भएकाले उनीहरुका लागि निःशुल्क उपचारको व्यबस्था मिलाउन आग्रह गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!