विदुर नपाद्वारा पाँच कार्यविधि पारित

Posted on: 12 Feb, 2019

माघ २९, नुवाकोट (रासस) | विदुर नगरपालिकाको चौथो नगरसभा आज पाँच कार्यविधि र पूरक बजेट पारित गर्दै सम्पन्न भएको छ । 

नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि, अपाङ्गता भएका व्यक्तिको परिचयपत्रसम्बन्धी कार्यविधि, बालगृह सञ्चालन कार्यविधि, बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि पारित गरेको हो । विधेयक समितिका संयोजक तोयानाथ तिम्सिनाले प्रस्तुत गरेको विधेयकमा सभासदस्यको टिप्पणी सुझावसहित पारित गरिएको हो । 

नगर प्रमुख सञ्जु पण्डितको अध्यक्षतामा भएको नगरसभाले चालू आर्थिक वर्षका लागि पूरक बजेटसमेत पारित गरेको छ । उपप्रमुख गीता दाहालले प्रस्तुत गर्नुभएको रु छ करोड ७१ लाखको पूरक बजेटसभाले पारित गरेको हो । नगरपालिकाको पुस मसान्तसम्मको अर्धवार्षिक राजश्व आम्दानी रु सात करोड ३२ लाख ९५ हजार, सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त निकासा आम्दानी रु ४१ करोड ७० लाख २० हजार रहेको छ भने पुस मसान्तसम्मको खर्च रु २७ करोड ७६ लाख १३ हजार छ । 

वडा नं ९ का अध्यक्ष सनी चित्रकारले वडामा मोटरसाइकल किन्नका लागि आएको बजेटले नगरपालिकाले एम्बुलेन्स किन्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको जानकारी दिनुभयो । वडामा एम्बुलेन्सको अति आवश्यक भएकाले मोटरसाइकल खरीदको रकमले एम्बुलेन्स किन्ने निर्णय भएको उहाँले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!