नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on: 30 Nov, 2020

मंसिर १५, नुवाकोट | गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ। तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय तामाङको घटनास्थलमा नै ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा२७ प ८६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी करिब दुई हजार ५०० मिटर तल खसेका थिए।

दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए भने पार्टी एकतापश्चात् नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए।  

चार सातापछि शव फेला

गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा फेला परेका छन्। सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था) मा आइतबार साँझ फेला परेको नुवाकोट प्रहरीले जनाएको छ। 

जङ्गल जाने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको र परीक्षणका क्रममा चार साताअघि हराएका तिमिल्सिनाको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!