नुवाकोट सेवा समाज युएईले त्रिशुली अस्पताललाई पठाए ईमर्जेन्सी बेड

Posted on: 11 Jul, 2021

असार २७, विदुर । वैदेशिक रोजगारको शिलशिलामा रहेका नुवाकोटका युवाहरुले जिल्लावासीको कोरोना उपचारका लागि दुई वटा ईमर्जेन्सी एण्ड रिकभरी हाईड्रोलिक बेड पठाएका छन् । नुवाकोट सेवा समाज युएईले जिल्ला अस्पताललाई करिब ३ लाख मुख्य बराबरको उक्त बेड आज एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।


जिल्ला अस्पताल त्रिशुलीमा नुवाकोटसहित धादिङ र रसुवाको नागरिकहरुलाई समेत उपचार सेवा उपलब्ध गराउँदै आएकोमा परदेशमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट खरिद उक्त स्वास्थ्य सामाग्रीहरु विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले रोहोवरमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मेयर पण्डितले उपलब्ध गराएको बेडले जटिल खालका बिरामीको उपचारमा सहज हुने अपेक्षा रहेको बताए । अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा जनशक्तिको अभाव र पूर्वाधारको कमि रहेको छ ।

जिल्लामा तेस्रो भेरियन्टको डेल्टा प्लस देखिएसँगै बालबालिकाहरुमा बढी सङ्क्रमण हुने भनिएको उक्त किसिमको बिरामी उपचारको लागि अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा नभएकोमा केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराए ।

नुवाकोट जिल्लाबाट वैदेशिक रोजगारको शिलशिलामा रहेका युवाहरुको सक्रियतामा संकलित रकमले उक्त स्वास्थ्य सामाग्री खरिद गरि त्रिशुली अस्पताललाई उपलब्ध गराईएको बेड हस्तान्तरण अभियानका नेपाल सहयोगी निरज कुमार खड्गीले बताए ।

उनले समाजमा आबद्ध रहेका ६८ जना व्यक्तिहरुबाट संकलन भएको दुईलाख ५९ हजार रुपैंयाँ रकमले अस्पताललाई पहिलोपटक यस किसिमको बेड हस्तान्तरण गरिएको जानकारी दिए ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले प्राप्त बेड कोरोना उपचार कक्षमा प्रयोग गरिने जानकारी दिए ।

महामारीको समयमा आफ्नो जिल्लाको अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन पाउँदा गर्व महसुस भएको नुवाकोट सेवा समाज युएईका वरिष्ठ उपाध्यक्ष रबिन खड्गीले साझासबाल लाई जानकारी दिए ।

त्यसैगरि वैदेशिक रोजगारीको शिलशिलामा युएई पुगेका नागरिकहरुको पहलमा संकलन भएको स्वास्थ्य सामाग्रीबाट नुवाकोट, रसुवा र धादिङका नागरिकहरुले उपचार सेवा पाउन सहज हुनेमा विश्वस्त रहेको बेड हस्तान्तरण अभियानका संयोजक जगन अधिकारीले बताए ।

 रोजगारीका सिलसिलामा युएई गएका नुवाकोटका युवाहरुले यस अघिपनि यहाँका विभिन्न संघसंस्थालाई सहयोग गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!