विकासका लागि सहकार्य गर्ने ओखलढुंगा र रामेछापका सांसदको प्रतिवद्धता

Posted on: 24 Dec, 2017

पूर्णप्रसाद न्यौपाने/पुस ९, ओखलढुंगा । ओखलढुंगा र रामेछापको विकासका लागि सहकार्य गर्ने दुवै जिल्लाका सांसदहरुले  प्रतिवद्धता जनाएका छन् । 

ओखलढुंगा र रामेछापका निर्वाचित जनप्रतिधिलाई बधाई तथा सम्मान दिन रामेछापको शिरिसेमा आयोजित संयुक्त विजयी सभालाई सम्बोधन गर्दै दुवै जिल्लाका सांसदहरुले सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सिमाना जोडिएका दुई जिल्लाको सहकार्य विना विकास सम्भव नरहेको भन्दै सांसदहरुले सहकार्यमा विकासको गतीलाई तिव्र पार्ने बाचा गरेका हुन् । 


दुवै जिल्लाका सांसदहरुले मिलेर विकास र रुपान्तरणमा लाग्नु अहिलेको आवश्यकता रहेको ओखलढुंगाका प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले बताउनुभयो । ‘ओखलढुंगा र रामेछापको समृद्धिका लागि सहकार्य गरेर नागरिकको गाँस,बास, कपास,शिक्षा,स्वास्थ्य र रोजगारको अधिकार प्रति जवाफदेहि बन्नेछौं’ सुनुवारले भन्नुभयो । 

रामेछापका प्रतिनिधिसभा सदस्य सांसद श्याम श्रेष्ठले पनि आफुहरु ओखलढुंगाको विकासका लागि आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो । ‘प्रतिवद्धता जनाए अनुसार काम गर्ने हाम्रो योेजना छ,दुई जिल्ला बिच बलियो र विश्वासिलो  सहकार्य हुन्छ’  श्रेष्ठले भन्नुभयो । 

त्यस्तै ओखलढुंगा प्रदेशसभा ख का सांसद मोहन खड्का हिमशिखरले दुई जिल्लाको विकासका लागि एकसाथ अघि बढ्ने बताउनुभयो । ‘वारि र पारि एकै पटक विकास भएको हेर्ने जनताको चाहाना अनुसार अघि बढ्छौं’ खड्काको भनाई । 

रामेछापका प्रदेश सांसद शान्ती पौडेलले पनि सहकार्यमा विकास गर्ने बताउनुभयो । ‘हामी घचेड्छौं उहाँहरु घिसार्नुहुने छ अनि विकासको गति तिव्र हुनेछ ।’ पौडेलको भनाई । कार्यक्रमलाई दुवै जिल्लाका दलका नेता तथा स्थानीय तहका जनप्रतिनिधिहरुले सम्बोधन गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!