सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ

Posted on: 31 Dec, 2018

पुष १६, ओखलढुंगा (रासस) |  यहाँका सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जिल्लाको मोलुङ गाउँपालिकाको श्रीचौर, प्राप्चा, हर्कपुर र सिद्धिचरण नगरपालिकाको वर्णालुका सुख्खाग्रस्त क्षेत्रमा रेडक्रसको सहयोगमा सिँचाइ सुविधा पुगेको हो । 

भूकम्प प्रतिकार्य कार्यक्रमअन्तरगत सिद्धिचरण र मोलुङमा सिँचाइ कुलो आयोजनाको काम गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाका सभापति सुमन राजभण्डारीले बताउनुभयो । 

स्थानीयको माग र आवश्यकताका आधारमा प्राप्चामा मोलुङ गरा, हर्कपुरमा बेलीचमेली, वर्णालुमा रङ्गबोटे र साजे सुगारे सिँचाइ कुलो आयोजना निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिएको सभापति राजभण्डारीको भनाइ छ । आइएफ आरसिको सहयोगमा रेडक्रसले निर्माण तथा स्तरोन्नती गरेका चार वटा सिँचाइ आयोजनाबाट एक हजार ५७ परिवारको चार हजार २५५ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । 

सुख्खाग्रस्त क्षेत्रमा पुगेको सिँचाइको सदुपयोग गरे किसानहरूको आयआर्जनमा वृद्धि हुने सांसद यज्ञराज सुनुवारले बताउनुभयो । उहाँले अब पानी अभावकै कारण खेतीबालीमा देखिएको समस्या समाधान हुने भन्दै किसानको जीवनमा परिवर्तन आउनेमा जोड दिनुभयो । 

“अब पानी छैन, खेती हुँदैन भनेर नबस्नुस् । धमाधम आफ्नो बारीमा के–के फल्छ त्यो खेती लगाउनुस्”, सांसद सुनुवारले भन्नुभयो “कृषि क्रान्ति गरौँ, ओखलढुङ्गाका नागरिकले अब तराईको तरकारी किनेर खानेदिनको अन्त्य हुनुपर्छ । यहाँ आएका ट्रकहरू रित्तो पठाउने होइन, तरकारी र यहाँको अन्नपातले भरेर पठाऔँ ।” 

गाउँगाउँमा सडक सुविधा समेत पुगेकाले सिँचाइ र सडकको प्रयोग गरेर किसानले मनग्य आम्दानी बढाउन सक्ने उहाँको भनाइ थियो । सिँचाइ सुविधा उपभोग गर्न पाएपछि स्थानीय पनि हर्षित भएका छन् । गाउँमा सिँचाइ सुविधा आएको भन्दै नौमती बाजा बजाएर प्राप्चाका स्थानीयले खुसीयाली मनाएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!