माओवादी केन्द्रले उठायो सिद्धिचरणको मेयरमा रुपेश !

Posted on: 20 Apr, 2017
 ओखलढुंगा,बैशाख ७। नेकपा माओवादी केन्द्रले ओखलढुंगाको एकमात्र नगरपालिका सिद्धिचरणमा उम्मेदवार घोषणा गरेको छ । नगरपालिकाका मेयर र उपमेयरसहित १० वडामा उम्मेदवार घोषणा गरेको हो । दुई वडामा भने सहमति हुन बाँकी रहेको माओवादी केन्द्रका नेता विनोद सुनुवारले बताउनुभयो ।
मेयरमा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य रुपेश शाक्य र उपमेयरमा चन्द्राकुमारी फुयलको उम्मेदवारी घोषणा गरिएको हो । त्यस्तै वडा नं. २ मा बशन्त कट्वाल, ४ मा कान्छाराम पोखरेल वडा नं. ५ मा नगर ईञ्र्चाज गुणकुमार राई वडा नं. ६ मा मदन मगर, वडा नं. ७ मा आङतेञ्जी शेर्पा वडा नं. ८ मा पृथ्वी वहादुर तामाङ वडा नं. ९ टोकल श्रेष्ठ, वडा नं. १० मा सन्तोष मगर र वडा नं. १२ मा कुलबहादुर नेपालीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले भने उम्मेदवार घोषणा गरेका छैनन् ।
बैशाख १० गते उम्मेदवार टुंगो लाग्ने नेकपा एमालेले जनाएको छ । भने नेपाली काँंग्रेसको बैठक चलिरहेको छ । घोषणा नभए पनि एमालेबाट जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र काँग्रेसको डिल्ली खनालको चर्चा बढी छ । एमालेमा सिताराम गुरुङ र शंकर कट्वालले पनि दावी गर्दै आएका छन् ।
त्यस्तै माओवादी केन्द्रले चिसंखुगढी गाउँ पालिकामा निशान्त सर्मा, लिखु गाउँ पालिकामा खडग योगी र चम्पादेवी गाउँपालिकामा खड्गबहादुर कार्कीलाई प्रमुखमा उम्मेदवार बनाएको छ । बैशाख ७ गते सबै उम्मेदवार चयन भइसक्ने माओवादी केन्द्रबाट सिद्धिचरण नगरपालिकामा मेयरका प्रत्यासी रुपेश शाक्यले बताउनुभयो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!