अन्तरघातीलाई कारबाही गर्ने ओखलढुंगा एमालेको निर्णय (को-को छन् अन्तरघाती ?)

Posted on: 25 Jul, 2017

पूर्णप्रसाद न्यौपाने | साउन १०, ओखलढुंगा | नेकपा एमाले ओखलढुंगाले स्थानीय निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारबाहि गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनको समिक्षा र भावि योजना निर्माणका लागि बसेको जिल्ला कमिटिको पूर्ण बैठकले निर्वाचनका अन्तरघातीलाई कारबाही गर्ने निर्णय गरेको हो । 

पार्टी भित्रैको अन्तरघातका कारण निर्वाचनमा अधिकांश स्थानमा पराजित हुनुपरेको निष्कर्ष निकाल्दै एमालेले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने जनाएको छ । पार्टीका उमेद्वारलाई निर्वाचनमा असहयोग गरेर असफल बनाउने व्यक्ति पहिचान गरेर कारबाहीका लागि सिफारीस गर्न एमालेले तीन सदस्य छानबिन समिति गठन गरेको छ । सचिवालय सदस्य केदारबाबु बस्नेतको संयोजकत्वमा मेखबहादुर खड्का र तिर्थ सुवेदी सदस्य रहेको समिति गठन गरेको हो । समितिलाई तीन दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

स्थानीय निर्वाचनका क्रममा देखिएका केही समस्याहरुलाई विश्लेषण गरेर छानबिन समितिले काम सुरु गरेको समिति सदस्य मेखबहादुर खड्काले बताउनुभयो । पार्टीमा ठुलो योगदान गरेका व्यक्तिहरुले नै अन्तरघात गरेको भन्ने सम्मको रिपोर्टीङ आएकाले कारबाहीका लागि सिफारीस गर्न समस्या भएको उहाँको भनाई छ ।

स्थानीय निर्वाचन पछि एमाले ओखलढुंगामो दोस्रो शक्ति हो । एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा एमालेले नगरपालिकामा प्रमुख,उपप्रमुख दुवै,लिखु गाउँपालिकामा प्रमुख उपप्रमुख  दुवै, मोलुङ गाउँपालिकामा प्रमुख र चिशंखुगढी गाउँपालिकामा उपप्रमुख जितेको छ ।

सांसद सहितका अधिकांश जिल्ला नेता नै अन्तरघाती हुन् त ?

अन्तरघात भनेको आफुभित्रैबाट हुने धोका हो । निर्वाचनका बेला अन्तरघात शब्द निकै चर्चित हुने गरेको छ । जनताले भोट नदिएकै कारण नराम्रोसँग पराजित भएका उमेद्वारहरुले आफ्नो हारको पहिलो कारण अन्तरघात नै भन्ने गरेका छन् ।

अन्तरघात गर्नेलाई कारबाही गर्ने एमालेको निर्णयले पार्टी शुद्धिकरण हुने र पछिल्ला दिनहरुमा पार्टी सक्षम बन्ने एकाथरीको तर्क छ । भने अर्काथरीले अन्तरघाती भनेर बिना आधार गरिने कारबाहीले पार्टीलाई थप घाटा हुन सक्ने बताईरहेका छन् ।

निर्वाचनमा पराजय व्यहोरेको स्थानका अगुवा नेताले अन्तरघात गरेको भन्ने अधिकांशको तर्क छ । यहि अधिकांश नेताले व्यक्त गरेको विचारका आधारमा पार्टीले कारबाही गर्दा ओखलढुंगाका केही बाहेक सबै जसो नेता कारबाहीमा पर्ने देखिन्छ । किनकी धेरै नेताको क्षेत्रमा पार्टीले चुनाव हारेको छ ।

हार व्यहोरेका क्षेत्रका नेता र कार्यकर्ताले अन्तरघात गरेको भन्ने अर्थ लगाउने हो भने  ओखलढुंगामा जिल्ला ईन्चार्ज सहितका तीनै जना सांसद समेत कारबाहीमा पर्ने देखिएको छ । जिल्ला ईन्चार्ज समेत रहेका सांसद यज्ञराज सुनुवारको वडामा समेत एमालेलाई हराउँदै कांग्रेसको प्यानल नै बहुमतले विजयी भएको छ । भने सांसद हर्कबोल राई र सकुन्तला राजभण्डारीको गाउँपालिकामा एमालेका उमेद्वारलाई हराउँदै माओवादीले जितेको छ । त्यस्तै जिल्ला कमिटि उपाध्यक्ष नेत्रप्रसाद भट्राईको वडामा एमालेले हारेको छ । त्यहाँ माओवादी केन्द्रले जितेको हो । यस्ता धेरै स्थानमा जिल्ला नेताका गाउँपालिका र वडाहरुमा एमाले पराजित भएको छ ।

पार्टीका उमेद्वार पराजित भएका स्थानका नेता र कार्यकर्तालाई कारबाही हुनेभए  कारबाहीका लागि सिफारीस गर्ने व्यक्तिहरु नै कारबाहीका भागेदार हुनुपर्ने अवस्था आएको छ । सिफारीस समितिका सदस्य मेखबहादुर खड्काको वडामा एमाले हारेको थियो भने अर्का सदस्य तिर्थ सुवेदीको पालिका र वडामा पनि एमाले नराम्रो सँग पराजित भएको थियो ।

एकले हार्यो अर्कोले जित्यो त्यहाँ के हुन्छ ?

यसैबिच आफु विजयी भएर पनि पार्टीको अर्को उमेद्वार पराजित भएको विषयलाई लिएर त्यसठाउँका नेतालाई अन्तरघाती भनेर कारबाही गर्दा निर्वाचनमा विजयी नेताहरु पनि कारबाहीमा पर्नेछन् । मोलुङ गाउँपालिकामा जिल्ला कमिटि उप सचिव मणीराज राई आफु विजयी भएका छन् भने उनको पालिकाका उपप्रमुखका उमेद्वार पराजित भएका छन् । उता चिशंखुगढीमा उपप्रमुखमा सुष्मा राई विजयी भएपनि त्यहाँ पालिका प्रमुखका उमेद््वार पराजित भएका छन् । त्यस्तै अधिकांश स्थानमा वडा अध्यक्ष र सदस्यहरु मात्रै पनि विजयी भएका छन् । अब पार्टीको अर्को उमेद्वारले हार्दा तैँले चाहीँ किन जितिस् भनेर कारबाही गर्ने कि के ? यो पनि छलफलको विषय हुनसक्छ ।

असफलता पनि भन्ने कि अन्तरघात मात्रै ?

अन्तरघात ठुलो असहयोग नै हो । तर निर्वाचनमा कसले असहयोग गरेको भनेर कसरी पहिचान गर्ने भन्ने सिफारीस समितिलाई अर्को चुनौती छ । मतदातालाई खुसी पार्न र अरु भन्दा बढी मत ल्याउन नसकेको अवस्थामा त्यो असफलता हो । असफल उमेद्वारको विषयलाई लिएर अर्को फरक व्यक्तिलाई अन्तरघातीको उपाधि दिनु महाभुल हुने कतिपय को तर्क छ । पार्टीको सदस्य भएर पनि वागी उमेद्वारी दिएर चुनावी मैदानमा उभिएकाहरुलाई भने अन्तरघातीको संज्ञा दिएर कारबाही गर्न सहज हुने कतिपयको अनुमान छ ।

निर्वाचनमा पराजित अनुहारहरु सर्वप्रथम त आफैँ असफल हुन् । अहिले अन्तरघात भएको भन्न सक्नेले चुनावका बेला अन्तरघात गर्नेहरुलाई मिलाउन नसक्नु उसको पहिलो असफलता हो,भने चुनाव हार्नु दोस्रो असफलता मात्रै । कारबाही त्यो व्यक्तिलाई पनि हुनुपर्छ जो निर्वाचनमा जनताको मन जित्न सकेन अनि असफल भयो,त्यहाँ व्यक्ति मात्रै होईन पार्टीले चुनाव हारेको छ । खिजिदेम्बा गाउँपालिकामा हारको कारण के हो भन्ने कारण एमाले नेताहरुले सोधिरहेका बेला पालिका संयोजक कोप बहादुर सुनुवारले भने ‘बहुमत जनताले जसलाई भोट दिए उनिहरुले जिते, हामीलाई जनताले पत्याएनन भोट दिएनन् हारियो ।’ अन्तरघात आदिका कुरा गरेर सार्वजनिक रुपमा गरिने कारबाहीले पार्टी संगठनलाई ठुलो घाटा हुने उनको तर्क छ । उनि भन्छन् ‘यो पटक चुनावमा मत दिएन भन्ने आँकलन गरेर कारबाही गर्दा उसले दशकौं देखि पार्टीमा गरेको योगदानको सम्मान हुँदैन, फेरि पनि योग्य नेता जन्माउन गाह्रो छ ।’

सँगै जोडिएका चार प्रश्न

पहिलो प्रश्न: अन्तरघातीलाई कारबाही गरेर सहयोगीहरुलाई सम्मान गर्नु राम्रो पक्ष हो । तर अनुहार हरेकै भरमा र अन्दाज गरेका भरमा अन्तरघाती भन्ने र त्यसलाई पुष्ट्याईँ गर्ने आधार के ?

दोस्रो प्रश्न: निर्वाचनमा सक्दो खटेर पार्टीलाई सहयोग गरेकै व्यक्तिलाई कारबाही गरिएमा त्यो सम्मान हुने कि अपमान ?

तेस्रो प्रश्न: सामान्य २ जना नागरिकलाई पार्टी प्रवेश गराउँदा उत्साहीत भएर २ सय जना प्रवेश गरेको हुँकार गर्ने नेताहरुले जीवनभर एमाले बनेर झोला बोक्नेहरुलाई गरेको कारबाही कस्तो होला ?

चौथो प्रश्न: आज निर्वाचनमा हारेको झोक फेर्न कार्यकर्तालाई गर्ने अनि फेरि उनिहरुलाई नै जिम्मेवारी दिईयो र पार्टीको सिपाई बनाईयो भने त्यो बेला जनताले कसरी बुझ्लान ? र कारबाही गरिएका नेताले कस्तो जिम्मेवारी पुरा गर्लान ? 

यस बिषयमा तपाइको प्रतिक्रिया...!