ओखलढुंगामा १६ जनाको जमानत जफत

Posted on: 15 Dec, 2017

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २९, ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ओखलढुंगाबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेता बाहेक सबैको जमानत जफत भएको छ । 

ओखलढुंगाबाट ९ दलका २१ र एक स्वतन्त्र गरि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २२ जना उम्मेदवार बनेकोमा १६ जनाको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका मध्ये एमाले र माओवादीको गठबन्धन र कांगे्रस सहितका दलको लोकतान्त्रीक गठबन्धनका  उम्मेदवार बाहेक अरु सबैले निर्वाचन ऐन अनुसारको मत ल्याउन नसक्दा उनिहरुको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत तिर्थ भटराईले बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम १६ जना उम्मेदवारको जमानत जफत भएको उहाँको भनाई छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ को उपदफा १ मा चुनावमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । 

ऐनमा गरिएको व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ ७ जना, प्रदेशसभा क तर्फ ५ जना र प्रदेश सभा ख तर्फ एक स्वतन्त्र सहित ४ जना गरी १६ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!