ओखलढुंगा: सरकारी कर्मचारीलाई ठगी मुद्दामा ६ महिना कैद सजाय

Posted on: 08 Feb, 2018

पूर्णप्रसाद न्यौपाने/माघ २६, ओखलढुंगा । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगा अन्र्तगत खिजीफलाटे कृषि सेवा केन्द्रका तत्कालीन प्रमुख सिंहेश्वर महतोलाई जिल्ला अदालत ओखलढुंगाले कृषकलाई ठगी गरेको अभियोगमा ६ महिना कैद र २० हजार रुपैंया जरीवना हुने फैसला गरेको छ ।

महतोले कृषकसँग विभिन्न वहानामा धोका दिइ गफलतमा पारी ठगि गरेको ठहर गर्दै जिल्ला न्यायधीश कैलाश केशीको इजलाशले उक्त फैसला गरेको हो ।

सेवा केन्द्रमा कार्यरत रहँदा अलैचि खेति गर्ने कृषकहरुलाई तालिम सञ्चालन गर्ने भनि कृषि वन तथा वातारण समितिबाट १० हजार, तरकारी खेति गर्न  योजना पारि दिने बहानामा विभिन्न व्यक्तिसँग २ हजारका दरले १० हजार समेत गरी २० हजार रकम लिएको देखिएकाले मुलुकी ऐन ठगी महलको ४ नम्बर अनुसार ६ महिना कैद र विगो अनुसार जरीवाना हुने फैसला भएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए ।

महतोले आफु कार्यालय प्रमुख भएको समयमा शान्तबहादुर तामाङसँग २ हजार, अर्जुन वस्नेतसँग २ हजार, सोमबहादुर तामाङसँग २ हजार र मानबहादुर खड्कासँग ४ हजार र तत्कालीन रावादोलु कृषि वन तथा वातावरण समितिबाट १० हजार गरी २० हजार रकम असुलेका थिए ।

कृषकहरुले आफुहरुलाई धोका दिइ गफलतमा पारी ठगि गरेको भन्दै ०७३ भदौ २१ गते ठगी मुद्दा  गरेका थिए । जिल्ला अदालत ओखलढुंगाले सो मुद्दामा सुनुवाइ गर्दै माघ १७ गते उक्त फैसला गरेको थियो । महतो हाल सप्तरी जिल्लामा कार्यरत रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!