ओखलढुंगामा गाउँगाउँमा घुम्ती शिविर, घरघरमा सेवा सञ्चालन

Posted on: 28 Jan, 2019

माघ १४, ओखलढुंगा | जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरेको छ । 

स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै शिविर चलाएको हो । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिकाको रावादोलु र लिखु गाउँपालिकामा शिविर सञ्चालन गरेर सेवा दिइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभयो । 

खिजीदेम्बा र लिखुमा जस्तै अन्य स्थानीय सरकारसँगको समन्वयमा सबै आठ वटै स्थानीय तहका गाउँगाउँमा सरकारी घुम्ती शिविर पुर्याइने उहाँको भनाइ छ । 

लिखु गाउँपालिकामा सञ्चालन भएको शिविरमा ३८४ जना र खिजीदेम्बा गाउँपालिकामा सञ्चालन भएको शिविरमा करीब ६०० जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

गाउँमा सञ्चालन भएको शिविरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिलाई बढी सुविधा भएको छ । सेवा लिन सदरमुकामसम्म पुग्न नसक्ने सेवाग्राही गाउँमै दिइएको सेवाबाट लाभाम्वित भएका हुन् । 

‘क’ श्रेणीको अपाङ्गता परिचयपत्र भएका तर नागरिकता नभएका कारण सेवाबाट वञ्चित उनीहरु घरैमा सेवा पाएपछि खुशी भएका छन् । सरकारी घुम्ती शिविर लिएर गाउँ पुगेको टोलीले शिविरस्थलसम्म पनि आउन नसक्नेलाई घरघरमै पुगेर सेवा दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र पौड्यालले बताउनुभयो । 

‘नागरिकलाई सहज सेवा दिनकै लागि टोली लिएर गाउँ पुग्दा त्यहाँ पनि आउन नसक्नेलाई घरैमा पुगेर सेवा दिने गरेका छौं ।’ पौड्यालले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!