ओखलढुंगामा बस दुर्घटना तीनको मृत्यु, १७ घाइते

Posted on: 10 Jul, 2019

असार २५, ओखलढुंगा  | जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् ।  

 बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिनुभयो । 

 घाइतेमध्ये पाँचकोे अवस्था गम्भीर छ । गम्भीर अवस्थाका पाँच जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । अन्य घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको छ । 

पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातयातको रात्रिबस सडकबाट करीब २५ मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!