मेलमिलाप पद्धतिमार्फत मुद्दा टुंगोमा

Posted on: 19 Jul, 2018

साउन ३, पाल्पा | पाल्पा जिल्ला अदालतमा परेका मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका छन् । 

आर्थिक वर्ष २०७४÷०७५ मा ४२ थान मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका हुन् । गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता भएको हो । आठवटा मुद्दा मेलमिलापका लागि छलफलको क्रममा रहेका छन् । दुवै पक्षलाई मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउँदा समय, पैसाको बचत हुने गर्दछ । 

जिल्ला न्यायाधीश शंकरराज बरालले पत्रकार सम्मेलनमा जिल्ला अदालत, पाल्पा देशमा नै सबैभन्दा बढी मेलमिलाप पद्धतिबाट मुद्दा टुंगो लगाउन सफल भएको बताउनुभयो । ४२ थान मुद्दामा मेलमिलापबाट सफलता हासिल गर्दा जिल्ला अदालतले ५६ प्रतिशत प्रगति हासिल गरेको छ । 

पाल्पामा ३२ जना मेलमिलापकर्ता केन्द्रमा सूचीकृत रहेका छन् । गत आवमा ३२७ मुद्दा फछ्र्योट हुन सफल हँुदा १०२.८३ प्रतिशत प्रगति हासिल गर्न सफल भएको स्रेस्तेदार सुवर्ण खनालले जानकारी दिनुभयो । 

मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका मुद्दा दिगो हुने गर्दछन् । जिल्ला अदालतमा आएका सम्बन्धबिच्छेद, झगडा, जग्गालगायतका देवानी प्रकृतिका मुद्दा मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउने काम भएको छ । 

मुद्दा मेलमिलापमार्फत टुंगोमा लागेपछि अदालतलाई न्याय सम्पादनमा सहज भएको छ । मेलमिलापमार्फत विवाद टुंगो लगाउन सक्ने मुद्दामा बहस गर्नुपर्दा अदालतमा न्याय सम्पादनमा कठिनाइ सिर्जना हुँदै आएको अदालतले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!