विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै विश्वराज

Posted on: 20 Nov, 2016

मङ्सिर ५, पाल्पा । रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय गर्नुभएको छ । 

आठ वर्षसम्म विदेशमा काम गर्नुभएका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि रु १० लाखको लगानीमा बाख्रा थाल्नुभएको हो । 

उहाँको फार्ममा अहिले स्थानीय जातका ५० वटा बाख्रा छन् । पाठापाठी बेचेर वर्षमा रु चार लाखसम्म आम्दानी गर्ने भट्टराई भन्नुहुन्छ,“कमाई हुन्छ कि भनेर विदेश गएँ, खाडीमा लामो समयसम्म पसिना बगाए, मुस्किलले खान बस्न ठिक्क हुन्थ्यो, परिवार चलाउन निकै समस्या प¥यो”—“यहाँ आएर बाख्रापाल्न थालेपछि महिनैपिच्छे पैसा पाउँदा र परिवारसँग व्यवसाय चलाउँदा आनन्द पनि लागेको छ । ” 

आफ्नै करिब तीन रोपनी जग्गामा व्यवसाय चलाउनुभएका भट्टराईलाई चरन र घाँसपातको लागि समस्या पनि छैन । यही दसैँमा मात्र उहाँले ३२ वटा पाठापाठी बेचेर रु एक लाख बराबरको आम्दानी गर्नुभएको छ । व्यवसायका लागि केन्द्रीय भेँडाबाख्रा प्रवद्र्धन केन्द्रबाट युवा लक्षित कार्यक्रम अन्तर्गत रु एक लाख र जिल्ला पशुसेवा कार्यालयबाट बोका खरिदका लागि रु ६ हजार अनुदान पनि प्राप्त गर्नुभएको छ । 

दुई सय वटा बाख्रापालेर वार्षिक रु ६ लाख भन्दा बढी आम्दानी गर्ने सोच बनाउनुभएका उहाँले यही व्यवसायबाट समाजमा राम्रो पहिचान बनाउन सकेको हँुदा दिगो रुपमा व्यवसाय गर्ने अठोट गर्नुभएको छ रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!