सुन्तलाको बिरुवाबाट पाँच लाख आम्दानी

Posted on: 09 Sep, 2017

भदौ २४, पाल्पा । व्यावसायिक रुपमा सुन्तलाको बिरुवा उत्पादन गरेर यहाँका एक किसानले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । 

जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, अम्लाबासका ७७ वर्षीय यमलाल कोइरालाले सुन्तलाको बिरुवा बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका हुन् । 

बीस रोपनी जग्गामा फैलिएको कोइरालको निजी बगँैचाबाट वार्षिक ४० देखि ६० हजारसम्म सुन्तलाका बिरुवा विभिन्न जिल्ला निकासी हुँदै आएको छ । अम्लाबाँसमा हुर्काइएका सुन्तलाका ती बिरुवा पश्चिम नेपालको दार्चुला, रोल्पा, सल्यान, कैलाली, प्युठान, अर्घाखाँची, गुल्मी स्याङ्गजा, पर्वत, बागलुङ, कास्की, तनहँु, नवलपरासीसम्म निर्यात हुँदै आएको उहाँले बताउनुभयो । 

करिब ४० वर्षदेखि निजी सुन्तलाको बगैँचाबाट कलमी र बिजु गरी दुई थरीका बेर्ना हुर्काउँदै आउनुभएका कोइराला सुन्तला बिरुवा उत्पादन गर्ने नमूना किसान हुन् । उनले प्रतिकलमी बिरुवा रु ४५ र बिजु रु २६ मा बगैँचाबाट नै बिक्री गर्दै आएका हुन् । 

प्रतिक किलो रु एक हजारका दरले १५ किलो जंगली सुन्तलाको बीउ काठमाडौँबाट ल्याएर ब्याड राख्नुहुन्छ । एक किलो बीउबाट तीन हजारभन्दा बढी सुन्तलाको बेर्ना हुर्काउन सकिन्छ । 

सुन्तलाको बीउलार्ई कात्तिक मंसिरमा ब्याड राख्ने, ब्याडमा हुर्किएका सुन्तलाका बिरुवालाई असार महिनामा प्लास्टिकका ब्यागमा सार्ने काम हुन्छ । जमिनबाट प्लास्टिकमा सारिएका जंगली सुन्तलाका बिरुवामा स्थानीय सुन्तलाको कलमी गर्नुपर्ने कोइरालाको भनाइ छ । कलमी गरिएका बिरुवालाई चार महिनासम्म हावा र पानीबाट जोगाउनका लागि प्लास्टिकको घरमा हुर्काइन्छ । 

सुन्दर तथा हराभरा सुन्तलाको बगैँचा कृषि पर्यटनका लागि थप आकर्षकको थलो बनेको छ । स्थानीय प्रदीप पोखरेलका अनुसार रु एक करोडभन्दा बढीको सुन्तला वर्षेनी जिल्ला बाहिर निकासी हुँदै छ । यस वडामा ५० भन्दा बढीले व्यावसायिक सुन्तलाखेती गर्दै आएको अर्का स्थानीय बासिन्दा नित्यानन्द पोखरेलले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!