अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तित

Posted on: 15 Dec, 2017

मङ्सिर २९, पाल्पा । अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । 

गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहुँदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ ।

गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्नुहुन्छ । अदुवाबाट उहाँको घरखर्च राम्रोसँग चलेको थियो । तर दुई वर्षयता अदुवा बिक्री नहुँदा उहाँ निकै समस्यामा पर्नुभएको छ । 

उहाँ भन्नुहुन्छ, “गतवर्ष पनि अदुवा बिक्री भएन सुठो बनाएर राखे, त्यो पनि बिक्री भएन, अहिलेसम्म त्यत्तिकै छ ।” उहाँले तीन सय धार्नीभन्दा बढी अदुवा उत्पादन गर्नुभएको छ । तर अहिलेसम्म बिक्री भएको छैन । व्यापारिले रु २० रुपैयाँ धार्नीमा दिँदा पनि लिन नमानेपछि उत्पादन भएको अदुवा कुहेर जाने चिन्ता बढेको सुनारी बताउनुहुन्छ । 

त्यस्तै अर्का कृषक दिलबहादुर रानाले अहिले तीन सय धार्नी अदुवा उत्पादन गर्नुभएको छ । तर बजारमा बिक्री गर्न नपाउँदा उहाँको मेहनत र लगानी खेर जाने भएको छ । रानाले गतवर्ष अदुवा बिक्री नभएपछि दुई सय धार्नी अदुवा सुठो बनाएर राख्नुभयो । तर त्यो सुठो बनाइएको अदुवा एक धार्नी पनि बिक्री नहुँदा उहाँ चिन्तित बन्नुभएको छ । 

“गतवर्षको सुठो बनाएको त्यत्तिकै छ, अहिले पनि उत्पादन भइसक्यो, एक धार्नी बेच्न पाइएको छैन” रानाले भन्नुभयो । सुठो बनाउँदा समयको खर्च र बनाउन निकै झण्झट हुन्छ । तर त्यही सुठो पनि नबिक्दा ठूलो घाटा बेहोर्नु परेको छ । 

अदुवा बिक्री नहुँदा साझ बिहानको गुजारा चलाउन निकै धौधौ परेको अर्का कृषक टोपबहादुर राना बताउनुहुन्छ । अदुवा बिक्री गरेर साँझ बिहान खाद्यान्नको जोहो गर्दै आएका यहाँका कृषक दुई वर्षयता बजारमा बिक्री नहुँद मारमा परेका छन् ।

 व्यापारिले पनि कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनत अनुसारको भाउ कृषकले नपाएका हुन् । 

जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवाखेतीलाई विस्तारका क्रममा सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघमार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ । गल्धा, सहलकोट, बाकामलाङ, भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङदी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिँदै आएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!