गाईपालनबाट लाखौ आम्दानी

Posted on: 24 Jan, 2018

माघ १०, पाल्पा | माथागढी गाउँपालिका–२ रुप्से गाउँका २८ परिवारको आयस्रोत नै गाईपालन व्यवसाय बनेको छ । 

एउटा परिवारले न्यूनतम दुईदेखि नौ वटासम्म जर्सी र होलस्टिन जातका माउ गाई पालेको छ । गाईपालनबाट उनीहरुको लाखौँ आम्दानी गर्दैआएका छन् । 

दूध बिक्रीबाट प्रतिपरिवारले मासिक रु ३० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने गरेका छन् । जिल्ला पशुसेवा कार्यालयले दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट उत्साहित भई कृषकले व्यावसायिक प्रणालीबाट गाईपालन व्यवसाय शुरु गरेका हुन् । 

कृषकलाई व्यावसायिक पशुपालनमा आकर्षित गराउन पशुसेवा कार्यालयले यहाँ २०६७ मा डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियान शुरु गरेको हो । सो कार्यक्रमका लागि कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत एक घरपरिवारलाई रु दुई हजार पाँच सय र गाई ढुवानी खर्चबापत रु एक हजार अनुदान रकम सहयोग गरेको पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताउनुभयो । 

उक्त क्षेत्रबाट दैनिकजसो ५०० लिटरभन्दा बढी दूध बजारमा खपत हुँदै आएको छ । दूध बिक्री गर्न थालेपछि यहाँका कृषकको दैनिकी फेरिँदै गएको छ । जीवलाल अर्यालले विदेशबाट फर्केर गाईपालन व्यवसायबाट अहिले मासिक रु एक लाखको हाराहारीमा कमाइ गर्नुहुन्छ । उहाँले सातवटा गाईबाट दैनिक ८० लिटर दूध बिक्री गर्नुहुन्छ । 

त्यस्तै यमबहादुर रिजालले दैनिक ५० लिटर दूध बिक्री गरेर मासिक रु ८० हजार आम्दानी गर्दैआउनुभएको छ । उहाँले पनि विदेशबाट फर्केलगत्तै सो व्यवसाय शुरु गर्नुभएको हो । 

दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन र घरखर्च चलाउन सजिलो भएको कृषक कृष्ण भट्टराई बताउनुहुन्छ । उहाँले दैनिक छवटा गाईबाट ८० लिटर दूध बिक्री गर्नुहुन्छ । एक महिनामा दूध बिक्रीबाट रु एक लाखको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताउनुभयो । 

पहिले यहाँका कृषक अन्नबाली, गेडागुडी लगाएर सामान्यरुपमा जीवन गुजारा गर्न बाध्य थिए । अहिले दूध बिक्रीबाट नसोचेको आम्दानी भित्र्दै जाँदा कृषक आफैँ दंग छन् । कृषकको सहजता र व्यवसायमा हौसला बढाउन डुम्रे दुग्ध उत्पादक सहकारीले घरदैलोमै पुगेर दूध खरिद गरेपछि कृषकलाई दूध बिक्री गर्न सहज भएको छ ।  रासस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!