पाल्पामा दुग्ध उद्योगबाट रोजगारी

Posted on: 17 Nov, 2018

मङ्सिर १, पाल्पा | यहाँ पशुपालन व्यवसाय फस्टाएसँगै दुग्ध उद्योगबाट युवाले रोजगारी पाउन थालेका छन् । 

बढ्दो बेरोजगार समस्यालाई हल गर्नका लागि जिल्लामा सञ्चालित साना तथा ठूला दुग्ध उद्योगबाट ५० भन्दा बढी युवाले रोजगारी पाउन सफल भएका हुन् । विदेशबाट फर्केका युवाले पशुपालन तथा दुग्ध उद्योग सञ्चालनमा राम्रो सफलता र प्रशस्त आम्दानी हुन थालेका छन् । 

पाल्पाका ग्रामीण तथा शहरी क्षेत्रमा ५०० देखि ९०० गाईभैँसीपालन गरी दूध बेच्न थालेसँगै जीवनशैली फेरिएको छ । डेरी एशोसिएसन पाल्पामा हालसम्म ११ दुग्ध उद्योग छन् । जिल्ला सदरमुकाम तानसेन नगर क्षेत्रमा सात र रामपुर नगरपालिका क्षेत्रमा चार दुग्ध उद्योग सञ्चालनमा छन् । 

डेरी एशोसिएसन पाल्पाका अध्यक्ष टीकाराम खरालले दुग्ध उद्योगमा कामदारको रु ३० हजारदेखि ४० हजारसम्म पारिश्रमिक रहेको जानकारी दिनुभयो । दैनिकरूपमा उपभोक्ता बढेपछि कामदारको सङ्ख्यासमेत बढ्दै गएको छ । दूध सहजरूपमा खपत हुँदा किसान लाभान्वित हुनपुगेका छन् । 

श्रीनगर दुग्ध डेरीका सञ्चालक रोमक्रान्त न्यौपानेका अनुसार पाल्पाबाट करीब एक करोड बराबरको छुर्पी जिल्ला बाहिर निर्यात हुने गर्दछ । किसानले उत्पादन गरेको दूधलाई सदुपयोग गर्दै छुर्पी बनाउन थालिएको हो । पाल्पामा उत्पादित छुर्पी नेपालको नमूना छुर्पीका रूपमा स्थापित हुँदै गएको व्यवसायी बताउँछन् । 

दुग्धजन्य पदार्थबाट दही, घ्यू, पनिर, खुवा, कुल्फी, आइसक्रिमलगायतका वस्तुको उत्पादनले व्यावसायिक रूप लिएको छ । दुग्धजन्य परिकार पोखरा, बागलुङ, स्याङ्जा, गुल्मी, पर्वत, रुपन्देही, काठमाडौँलगायत जिल्लामा निर्यात हुने गरेको बताइएको छ । पाल्पाका किसानलाई अहिले दैनिक रु ४५ लाख बराबरको आम्दानी हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!