विश्व बैंकको सहयोगमा पाल्पामा सडक विस्तार

Posted on: 21 Nov, 2016

मङ्सिर ६, पाल्पा । तनहुँको भिमाददेखि घिरिङ देउराली हुँदै पाल्पाको रामपुर नगरपालिका जोड्ने मोटरबाटो विस्तार तथा मर्मत गर्ने कार्य भइरहेको छ । 

कृष्णमार्गअन्तर्गत पर्ने घ्यानुङ देउरालीदेखि केलादीसम्मको मोटरबाटो विस्तारको काम अघि बढाइएको छ । आठ मिटर चौडाइ रहेको झन्डै २५ किलोमिटरको बाटो विस्तार तथा मर्मत कार्य अहिले तीव्ररुपमा अगाडि बढिरहेको छ । 

विश्व बैंकको सहयोगमा नेपाल सरकारको कार्यान्वयन योजनाअन्तर्गत रु १० करोड ७६ लाखको लागत स्टमेटमा सो मोटरबाटो विस्तार तथा मर्मत कार्य थालनी गरिएको ठेकेदार तेजप्रसाद बरालले बताउनुभयो । 

सन्तोषी निर्माण सेवाले १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरी कामलाई अगाडि बढाइरहेको छ । यसै आर्थिक वर्षबाट सुरु भएको मोटरबाटोको ५० प्रतिशत कटिङको काम सकिएको छ भने नाली कटान र ग्राभेल गर्ने काम भइरहेको छ । 

यहाँ मोटरबाटो विस्तार कार्य सकिएपछि पाल्पाको रामपुरबाट तनहुँको भिमाद, खैरेनी, पोखरा, काठमाडौँ, नारायणगढलगायतका विभिन्न स्थानमा सवारीसाधनको सङ्ख्या बढाउने तयारी गरिरहेको रामपुर यातायात समितिका अध्यक्ष राजन पोखरेलले बताउनुभयो । 

यस मोटरबाटोबाट पाल्पा, तनहुँ, स्याङ्जा र नवलपरासीका जनताले लामो तथा छोटो दूरीका लागि सहज सेवा लिँदै आएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!