रामपुरमा सिटी बस सेवा शुरु, कहाँ-कहाँ चल्छन ?

Posted on: 23 Nov, 2017

मङ्सिर ७, पाल्पा । पाल्पाको रामपुरमा बुधबारदेखि सिटी बस सञ्चालनमा आएको छ । 

रामपुर क्षेत्रका जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न र यातायातमा सबैको पहुँच पु¥याउनका लागि रामपुर यातायात व्यवसायी समितिले सिटी बस सञ्चालनमा ल्याएको हो । 

सिटी बस सेवा शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले यातायात विकासको मुख्य पूर्वाधार रहेको बताउँदै अन्य विकासका पूर्वाधार निर्माणको लागि यातायात सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले सडक विस्तार र स्तरोन्नतिका लागि नगरपालिकाले सहयोग गर्ने र नगरपालिका भित्रको बसपार्क व्यवस्थित गर्ने प्रक्रिया शुरु भइरहेको जानकारी दिनुभयो । 

रामपुर यातायात व्यवसायी समितिले हाल २५ वटा बस र ३१ वटा जिपमार्फत काठमाडौँसहित विभिन्न स्थानमा यातायात सेवा दिँदै आएकामा नगरपालिकाको मुख्य बजार बेझाड केन्द्रित गरेर वडा नं. १० को गेझादेखि वडा नं १ को स्यालीबजारसम्म पनि सिटी बस सञ्चालन गर्ने भएको छ । 

सिटी बस सञ्चालनमा आएपछि हर्षित स्थानीयबासी सहितका जनप्रतिनिधि, समितिका पदाधिकारी, प्रशासन प्रमुखलगायत सरोकारवालाले पेट्रोलपम्पबाट बसपार्क हँुदै बेझाड बजार परिक्रमा गरेका थिए । 

रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले जिपमार्फत सेवा प्रवाह गर्दै आए पनि रामपुरको बढ्दो शहरीकरण र जनघनत्वका कारण थप सेवाको महसुस गरी सिटी बस सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले आगामी दिनमा रामपुर नगरपालिकासहित गण्डकीबेसी क्षेत्रमा सिटी बस सेवा थप गर्दै लैजाने योजना रहेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!