पाल्पामा केवलकार सञ्चालन हुने

Posted on: 11 Apr, 2019

चैत २८, रामपुर (रासस) | पाल्पामा पनि अब केवलकार सञ्चालन हुने भएको छ । तिनाउ गाउँपालिकादेखि बुटवल उपमहानगरपालिका रुपन्देहीसम्म जोड्ने गरी केवलकार सञ्चालनमा ल्याउने योजना अगाडि सारिएको लुम्बिनी केवलकार प्रालिका प्रोपाइटर तेजप्रसाद विकले बताउनुभयो । 

तिनाउ – ३ वसन्तपुरमा माथिल्लो सबस्टेशन र बुटवल– ३ बमघाटमा तल्लो सबस्टेशन रहने गरी करीब ३ किमीमा झण्डै १८ देखि २०  केवलकार सञ्चालन गरिने प्रालिले जनाएको छ । पाँच वर्षअघि सर्वेक्षण भइसकेको त्यस क्षेत्रमा केवलकार सञ्चालनका लागि रु तीन  अर्ब ५२ करोड लागत लाग्ने  अनुमान गरिएको छ ।  वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र  १५० कोठासहितको सुविधासम्पन्न होटल –रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी गरिएको प्रालिका प्रोपाइटर विकको भनाइ छ । 

रुपन्देही तथा पाल्पा क्षेत्रका बासिन्दालाई जतिसक्दो स्वरोजगार  बनाउने र अधिकतम रुपमा पर्यटकलाई भित्र्याउने योजना प्रालिको  छ । प्रदेश नं ५ कै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पाल्पासम्म ल्याउने योजनाले केवलकार सञ्चालन गरिने भएको हो । लुम्बिनी आएका पर्यटकलाई पाल्पाका पर्यटकीय क्षेत्रको अवलोकनपछि मात्रै पोखरा पुग्ने वातावरण मिलाइने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो ।

प्रदेश नम्बर ५ को मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित बुटवल रुपन्देहीको सिमानाका रुपमा रहेको तिनाउँ गाउँपालिकामा रहेर ओझेलमा परेको सुकेताललगायत पाल्पाकै बहिरीदेवी सत्यवतीको विकासमा समेत नयाँ योजना ल्याउने तयारी रहेको विकले बताउनुभयो ।  केवलकार सञ्चालनसँगै स्थानीय ६० प्रतिशत नागरिकलाई रोजगारी दिइने र पाल्पामा दैनिक १० लाख पर्यटक भित्र्याइने केवलकार प्रालिका प्रोपाइटर विकको धारणा छ  ।

एशियाकै ठूलो त्रिशूल, पाल्पाली करुवा र ढाका  तथा नेपालको ताजमहल रानीघाटको  नामले पर्यटक पाल्पा आउने गरे पनि अब केवलकारबाट पर्यटकलाई आकर्षण गर्नु राम्रो भएको तिनाउका अध्यक्ष सारुको भनाइ छ । केवलकार सञ्चालनका लागि पाल्पा तथा रुपन्देही बुटवलका सरोकार पक्षको छलफलपछि अब छिट्टै शिलान्यास गरेर दुई वर्षभित्र काम सक्ने योजना छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!