रामपुरको पाँच सय खोलामा निर्माणाधीन पुलमा वर्षाले क्षति

Posted on: 20 Jun, 2020

असार ६, रामपुर । वर्षाले  कालीगण्डकी करिडोरअन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब रु ६५ लाख बराबरको क्षति पुगेको हो । 

आज ढलान गर्ने तयारी गरी कामलाई तीव्रता दिइरहेका बेला बाढीले सटरिङ नै बगाएपछि ठूलो क्षति पुगेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सहायक सुपरभाइजर दामोदर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार वर्षायाम अगावै ढलानको काम सक्ने भनिए पनि खोलामा पानीको बहाब बढ्न थालेपछि समयमा नै काम सम्पन्न गर्न समस्या हुनेछ । वर्षायाम शुुरु भएकाले दशैँतिहार अगावै काम सञ्चालन गर्न समस्या हुने भण्डारीले बताउनुभयो । रु तीन करोड ६० लाखको लागतमा निर्माण हुन लागेको सो पुल आर्थिक वर्ष २०७३÷०७४ मा सम्झौता भई २०७५ मङ्सिर अन्तिमदेखि निर्माण शुरु गरिएको हो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!