टहरामा पढाइ हुने विद्यालयको भवन बन्दै

Posted on: 01 Jul, 2019

असार १६, पाल्पा | बाँसले बारेर बनाइएको टहरामा विद्यार्थीलाई शिक्षा दिने पाल्पा रामपुरको एक विद्यालयको  भवन अब बन्ने भएको छ । रामपुर नगरपालिका वडा नम्बर २ खयरबोटको कालिका प्राथमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो । 

जापानी समाजसेवी काजुमासा काकिमी ओकेबाजेको रु १० लाख र वडा कार्यालयको रु  एक लाख सहयोगमा बन्ने भवनको शिलान्यास गरिएको विद्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पमा भत्किएको भवन अझै निर्माण हुन सकेको छैन ।

“भूकम्पले भवन भत्काएपछि केही समय विद्यार्थीलाई अहिलेको वडा कार्यालय भवनमा राखेर तथा कहिले खुला चौरमा पढायौँ, अहिले भूकम्प प्राधिकरणको सहयोगमा ट्रसबाट दुई वटा भवन निर्माण जारी छ । अहिलेसम्म बाँसले बारेको कोठामै पढाएका छौँ ”,प्रधानाध्यापक बाबुराम घिमिरेले भन्नुभयो । नर्सरीदेखि कक्षा ४ सम्म पठनपाठन हुने सो विद्यालयमा अहिले ५२  विद्यार्थी अध्ययनरत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!