पुरुषको तुलनामा महिला ज्यालामा ठगिँदै

Posted on: 23 Jan, 2018

माघ ९, पाल्पा | काम र सीप हुँदाहुदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद् कायम छ । 

दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ । 

सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै गर्छन् तर महिला भएकै कारण ज्यालामा ठगिएका छन् । रामपुरकी सबिरन मियाँले बिहान नौ बजेदेखि साँभ पाँच बजेसम्म घर बनाउने काम गर्नुहुन्छ र रु पाँच सय बुझ्नुहुन्छ । 

यस्तै माया कुमालले पनि पुरुषले गर्ने सबै काम गर्नुहुन्छ तर उहाँले पुरुषको तुलनामा रु तीन सय कम ज्याला बुझ्नुहन्छ । उहाँसँगै काम गर्ने पुरुष मजदुरले रु आठ सय ज्याला बुझ्दा कुमालले रु पाँच समयमा चित्त बुझाउनु पर्छ । 

काम र सीप अनुसार समान ज्याला दिँदै आएको निर्माण व्यवसायी मनबहादुर लामा बताउनुहुन्छ । मजदुरलाई दिनमा आठ घण्टा काम गरेबापत एक दिनको न्यूनतम पाँच सयदेखि बढीमा आठसयसम्म काम हेरेर महिला पुरुष नभनीकन ज्याला दिएको लामाको भनाइ छ । 

धनमाया दरैले भने आठ घण्टासम्म मजदुरी गरेर दिनमा रु चार सय ज्याला पाएको बताउनुभयो । उहाँले पुरुषले पाउने ज्याला नपाए पनि न्यूनतम तोकिएको ज्याला समेत पाउनुभएको छैन । 

‘डेरी पकेट कार्यक्रम’ प्रभावकारी 

दूध उत्पादन बढाउन सञ्चालन गरिएको डेरी पकेट कार्यक्रम कृषक माझ प्रभावकारी बनेको छ । जिल्ला पशुसेवा कार्यालयले कृषकलाई व्यवसायीक पशुपालनमा आकर्षित गराई जिल्लामा दूधको उत्पादन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरेको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ कार्यक्रमबाट कृषकको जीवनस्तर उकासिदै गएको छ । 

माथागढी गाउँपालिका– २ रुप्सेमा सञ्चालन भएको यस कार्यक्रमबाट यहाँका २८ घरधुरी लाभान्वित भएका छन् । विसं २०६७ मा शुरु भएको डेरी पकेट कार्यक्रमअन्तर्गत ‘एक परिवार दुई गाई’ अभियानका कारण कृषकले अनिवार्य रुपमा कम्तीमा दुईवटा उन्नत जातका गाई पालेका छन् । 

“एउटा कृषकले २० लिटरदेखि बढीमा एक सय लिटरसम्म दूध बिक्री गर्ने गरेका छन्,” पशु स्वास्थ्य प्राविधिक शेरबहादुर रानाले भन्नुभयो । सो क्षेत्रबाट दैनिकजसो पाँच सय लिटरभन्दा बढी दूध बजारमा बिक्री हुँदै आएको छ । पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत प्रतिकृषक रु दुई हजार ५०० र गाई ढुवानी खर्चबापत रु एक हजार अनुदान सहयोग गरेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!