वाम गठबन्धन ल्याए पाल्पाको समृद्धि ल्याउने घोषणापत्र

Posted on: 13 Nov, 2017

कात्तिक २७, पाल्पा । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समिति, पाल्पाले सामाजिक न्यायसहितको आर्थिक समृद्धिका योजना समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । 

वाम गठबन्धनको घोषणापत्र मस्यौदा समितिका संयोजक झपेन्द्र जिसीले सामाजिक न्याय र समानतामा आधारित समाजवाद स्थापना गर्ने वाम गठबन्धनको मुख्य लक्ष्य रहेको बताउनुभयो । 

उहाँले लोकतान्त्रिक गणतन्त्रका निम्ति लामो संघर्ष गरेका मुख्य कम्युनिस्ट शक्तिहरूबीचको तालमेलले ल्याएको यो प्रतिबद्धतापत्रले पाल्पाको विकास र समृद्धि हासिल गर्ने मार्गचित्र देखाएको बताउनुभयो । 

नेकपा (एमाले) का नेता धनेन्द्रराज घिमिरेले वाम गठबन्धनले बहुमतको सरकार निर्माण गरी मुलुक र जिल्लाको विकासमा कायापलट गरी देखाउने बताउनुभयो । उहाँले घोषणापत्र बनाउनका लागि होइन, काम गर्ने योजनाका लागि बनाइएको हो भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले घोषणापत्रअनुसार भविष्यमा पनि काम गर्न सुझाव दिनुभयो । 

वाम गठबन्धनले सिद्धबाबा वैकल्पिक सडक, ‘एक घर एक धारा’, कालीगण्डकी लिफ्ट खानेपानी, अन्तरजिल्ला जोड्ने उत्तर—दक्षिण सडक, पाल्पा दरबार संग्रहालयलाई ५ नं प्रदेशको संग्रहालय स्थापना, पाल्पालाई पर्यटनको केन्द्र बनाउने लगायतका योजना समेटिएको मस्यौदा समितिका सदस्य मथुरा ढकालले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!