योजना सुरु भएको सात वर्षपछि सत्यवतीमा बिजुली बल्यो

Posted on: 27 Mar, 2017

चैत १४, पाल्पा । कोलडाँडा सत्यवतीका ९७ वर्षीय खेमबहादुर दर्लामीलाई बिजुलीको उज्यालो बुढेसकालमा देख्न पाउँदा सपना जस्तै लागेको छ । 

जीवनमा उहाँले बिजुलीको उज्यालोमा बस्न पाइएला भनेर कल्पना पनि गर्नुभएको थिएन । वृद्ध दर्लामीलाई मात्र होइन युवापुस्ताकी रेनुका दर्लामीलाई दुर्गम र विकट यस सत्यवती गाउँमा बिजुलीको सुविधा आउँछ भन्ने लागेको थिएन । 

सधैँ टुकी बालेर जीविका चलाउँदै आउनुभएकी दर्लामीले झिलिमिली बिजुलीको बत्ती गाउँभरि बलेको देख्दा अनौठो लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सहरतिर जाँदा बिजुली बलेको देखिन्थ्यो । यस्तो दुर्गममा बिजुली बल्छ भन्ने कल्पनै गरेको थिइनँ । 

यहाँका स्थानीयवासीले २०६६ सालदेखि गाउँमा बिजुली ल्याउन प्रक्रिया सुरु गरे पनि लामो समयसम्म योजना सम्पन्न नहँुदा यति चाँडै बिजुली आउँला भन्ने आशा कसैले गरेका थिएनन् । स्थानीय जनताको सहभागिता र साविकको जिविस र गाविसको आर्थिक लगानीमा सुरुवात गरेको यो योजनाले सात वर्षपछि सफलता प्राप्त गरेको हो । 

साविक जिविस र कोलडाँडा गाविसको पटकपटक गरी रु ५४ लाख २४ हजार ४९४ र स्थानीय जनताको रु छ लाख ६० हजार गरी कुल रु ६० लाख ८४ हजार ४९४ हजारको लागतमा विद्युत् विस्तार योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष देवसिंह दर्लामीले बताउनुभयो । सत्यवती गाउँका ७७ घरपरिवार बिजुलीबाट लाभान्वित भएका छन् । 

कपिलवस्तु मल्टी सप्लायर्समार्फत बिना टेन्डर साविक जिविसले खरिद गरेको सामग्री गुणस्तरीय मापन गर्दा कम गुणस्तरका भएको प्रमाणित भएकै कारण विद्युत् प्राधिकरणले ट्रान्सफर्मर चार्ज गरी लाइन दिन अस्वीकार गरेकाले विद्युत् प्राधिकरण र सहयोगी निकाय जिविसको विवाद बढेर योजनामा ढिलाइ भएको स्थानीय बासिन्दा जीवनकुमारी रास्कोटीले बताउनुभयो । 

दुई वटा कार्यालय आ–आफ्नै अडानमा रहेका बखतमा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाको पहलमा योजना अघि बढाइएको विद्युत् विस्तार समितिका सचिव सुरेन्द्र रेग्मीले बताउनुभयो । 

गाउँभरि उज्यालो हुने गरी बिजुली बलेपछि बालबालिकाको पठनपाठनमा सुधार आउने पृथ्वी प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक तुल्सीप्रसाद पौडेल बताउनुहुन्छ । 

दुई कार्यालयबीचको द्वन्द्वका विषयमा नेपाल विद्युत् प्राधिकरणका इन्जिजियर प्रमोद खनालले प्राधिकरणका आफ्नै ऐन नियम रहेको र गुणस्तर र मापदण्ड हेरेर मात्रै काम गर्नुपर्ने बताउनुभयो । 

जिल्ला प्राविधिक कार्यालयका एक प्रविधिज्ञले पनि बिना टेन्डर खरिद गरिएका सामग्रीको परीक्षण गर्दा कमसल रहेको फेला परेको प्रतिक्रिया दिए । काँग्रेसका जिल्ला सभापति रानाले साविकको वडा नं ४ का बाँकी घरमा यसै आवमा बिजुली बत्ती बालिदिने वचन दिनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!