नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on: 23 Jul, 2018

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गरेको हो । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ९ च ९९६ नं को पिकअप गाडीलाई सुरक्षा जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल बरामद गरिएको पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिनुभयो । पक्राउ परेका अर्याललाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।  

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!