पाल्पामा नगरभित्रकै विद्यालयमा शौचालय अभाव, झाडी र खोला किनारमा शौच गर्न बाध्य

Posted on: 14 Nov, 2018

सुशीला रेग्मी | कात्तिक २८, बेझाड | पाल्पाको कालिका प्राथमिक विद्यालय रामपुर नगरपालिका–२ का शिक्षक शौचालयभन्दा बाहिर शौच गर्नहुँदैन भनेर कक्षाकोठाभित्र सैद्धान्तिक शिक्षा दिने गर्छन् । 

उनीहरु नै कक्षाकोठाबाट बाहिर निस्कने बित्तिकै शौच गर्न झाडी र खोला किनारमा पुग्छन् । विद्यालय छ, तर यहाँ शौचालय छैनभन्दा अचम्म लाग्न सक्छ । त्यो पनि रामपुर नगरपालिकाभित्रको विद्यालय । 

यहाँका शिक्षक, विद्यार्थी विद्यालय आएपछि झाडी र खोला किनारमा शौच गर्न बानी परिसकेका छन् । शिक्षक आफैँले कक्षा कोठाभित्र खुल्ला ठाउँ, झाडी, खोला किनारमा दिसापिसाब गर्नुहुँदैन भनेर पढाउने गर्छन्, उनीहरु बाहिर निस्किएपछि विद्यार्थीलाई नै शौच गर्न झाडी, खोला किनारतिर पठाउने गर्छन् । 

विद्यालयको आर्थिक अवस्था नाजुक हुँदा शौचालय बनाउन नसकिएको प्रधानाध्यापक बाबुराम घिमिरे बताउनुहुन्छ । “कक्षाकोठाभित्र शौचालयभन्दा बाहिर शौच गर्नुहँुदैन भन्यो, बाहिर निस्किएपछि विद्यार्थीले सर शौचालय कता छ भन्दा ऊ उता झाडी, खोला किनारमा जाऊ भन्न बाध्य छौँ”, उहाँले भन्नुभयो । 

“शौचालयका लागि नगरपालिकाको शिक्षा शाखामा जानकारी गराइएको छ, केही सहयोग रकम जुट्यो भने शौचालय बनाउने सोचमा छौँ”, घिमिरे बताउनुहुन्छ । 

झाडी र खोलाकिनारतिर शौच गर्न बाध्य भएको विद्यार्थी सुमन थापाले बताउनुभयो । “घरमा शौचालय छ, तर विद्यालयमा शौचालय छैन, शिक्षकले पढाउँदा शौचालयमै शौच गर्नुपर्छ भन्नुहुन्छ, शिक्षक आफैँ झाडी, खोला किनारमा जानुहुन्छ” थापाले भन्नुभयो । विद्यालयमा शौचालय नहँुदा छात्रा र महिला शिक्षकलाई शौच गर्न कठिन परेको शिक्षिका उमा राना बताउनुहुन्छ । 

नगर शिक्षा अधिकृत रमाकान्त अर्यालका अनुसार नगरपालिकाभित्र सञ्चालित विद्यालयमा शौचालय नहुनु लाजमर्दो कुरा हो, यस विषयमा शिक्षा शाखामा पनि कुरा आइसकेकाले शौचालय निर्माणका निम्ति पहल गरिनेछ । 

भर्खरै मात्र अस्थायी टहरा सम्पन्न भई कक्षा सञ्चालन भएकाले शौचालय निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । आर्थिक अभावमा समयमा नै शौचालय बनाउन नसकिएको विद्यालयले स्वीकार्दै अस्थायीरूपमा भए पनि अब छिट्टै नै शौचालय बनाउने सोच राखेको छ । पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय स्थानान्तरण गरेपछि शौचालयको समस्या देखिएको हो । विद्यार्थी सङ्ख्या न्यून भएकाले पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय स्थानान्तरण भई यसै शैक्षिक सत्रदेखि टहरामा पठनपाठन हुँदै आएको छ । 

यस विद्यालयमा ४५ विद्यार्थी अध्ययनरत् छन् । यहाँ कक्षा नर्सरीदेखि ५ कक्षासम्म पठनपाठन हुँदै आइरहेको छ । गाउँमा सञ्चालित विद्यालय भएका कारण पनि सरोकारवाला निकायको भौतिक पूर्वाधारमा त्यति ध्यान जानसकेको छैन । 

विद्यालयमा शौचालय नहुनु लाजमर्दो कुरा हो । कालिका प्राथमिक विद्यालय एक उदाहरण मात्र हो । यस्ता खालका धेरै विद्यालय छन् । शौचालय समस्याकै कारण विद्यार्थी सङ्ख्या घट्ने अवस्था नआउला भन्न सकिँदैन । अस्थायी शौचालय भए पनि निर्माण गर्नतर्फ विद्यालयले ध्यान दिनु आवश्यक छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!