खानेपानीको मुहान पुरिँदा समस्या

Posted on: 04 Mar, 2019

फागुन २०, पाल्पा | डोजरले सडक खन्दा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गकोे खानेपानीको मुहान पुरेपछि त्यहाँका बासिन्दा समस्यामा छन् । 

उक्त गाउँपालिकाको वडा नं. २, वडाबाट वडा नं. ४, तान्सिङगलसम्म रू १० लाख लगानीको लागतमा मोटरबाटो विस्तार गरिएको थियो । सडक विस्तारका क्रममा डोजरले माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहान पुरिएकाले समस्या भएको स्थानीयवासी नुरबहादुर बुढाथोकीको गुनासो थियो । अर्कास्थानीयवासी गोविन्द भण्डारीका अनुसार मुहान पुरिँदा मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको समस्या भएको छ । सडक विस्तारका क्रममा खानेपानीका मुहान पुरिएपछि पानीको समस्या चर्केको बताउनुभयो । 

जथाभावी माटो र ढुङ्गा फाल्दा वातावरणमा पनि ठूलो असर परेको उहाँको भनाइ थियो । वर्षाका बेला फालिएको माटो बग्दा पहिरोसमेत जानसक्ने आशङकाले स्थानीयवासी चिन्तित छन् । मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले बाटोे विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको छलफलबाट समाधान गर्न सकिने बताउनुभयो । 

स्वास्थ्य एकाइबाट फिजियोथेरापी सेवा 

तानसेन नगरपालिका–१४, अर्गलीमा पहिलो पटक फिजियोथेरापी उपकरण सञ्चालनमा ल्याएको छ ।अर्गली स्वास्थ्य एकाईले फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रू पाँच लाखको सहयोगमा ल्याइएका दुई थान उपकरणमध्ये एउटा स्वचालित छ भने अर्को ‘म्यानुअल’ रहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!