तालपोखरामा डुङ्गा बन्द

Posted on: 23 May, 2019

सुशीला रेग्मी | जेठ ९, पाल्पा | एक सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो । टाढा टाढाबाट पर्यटक तालपोखरा हेर्न रामपुर भित्रिन थाले । आन्तरिक पर्यटकले खचाखच हुने तालपोखरा क्षेत्र अहिले भने सुनसान छ । 

कृत्रिम तालका रुपमा विकास गरिएको तालपोखरामा दुई महिनाअघिदेखि डुङ्गा सञ्चालन बन्द गरिएपछि यहाँ आउने पर्यटकलाई सास्ती भएको छ । टाढा टाढाबाट डुङ्गा चढ्नकै निम्ति आएका पर्यटकहरु अहिले तालपोखरा नपसी सडकबाटै फर्कने गरेको पाइएको छ । 

तालपोखराको व्यवस्थापन पूरा नहुँदा नहुँदै हतार हतार डुङ्गा सञ्चालन गरिएकाले अहिले बीचैमा एक्कासी बन्द गर्नु परेको स्थानीयवासी बताउँछन् । डुङ्गा बन्द गराएर स्तरोन्नतिको काम गर्न लागिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो । 

“तालपोखराको संरचना बलियो बनाएर बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ अहिले डुङ्गा सञ्चालन बन्द गरेर स्तरोन्नति गर्नतर्फ लागेका हौं,” उहाँले भन्नुभयो ।

तालको रुपमा फैलिएको जमीनको पूरै भागको सतह मिलाउने, मर्मत गर्ने, डुङ्गा लाग्ने स्थानमा सुधार र तालको चारैतिरको भाग बारबन्देज गर्ने काम सुरु गरिएको छ ।

तालपोखराको मध्यभागमा रहेको जलेश्वर महादेवको पूर्व र पश्चिमतिर पार्क निर्माण गर्ने समितिको योजना छ । यस आर्थिक वर्षमा स्तरोन्नतिका लागि रामपुर नगरपालिकाले रु २० लाख रकम सहयोग गरेको छ । नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख रकम सहयोग प्राप्त भएको छ । 

“पानी सुकाउनै समय धेरै लागेकाले तालपोखरामा डुङ्गा बन्द गर्नु परेको हो, स्तरोन्नति गरेपछि व्यवस्थित तरीकाले नियमित रुपमा डुङ्गा सञ्चालन हुनेछ,” डुङ्गा व्यवसायी भगवान् देवकोटाले भन्नुभयो । 

डुङ्गा बन्द हुँदा केही समय रोजगारी पनि बन्द हुन पुगेको उहाँ बताउनुहुन्छ । उहाँले शुरुदेखि नै यहाँ डुङ्गा चलाउँदै आउनुभएको छ ।

तालपोखरामा डुङ्गा चढेर फेवातालको अनुभूति गर्ने अभिलाषा बोकेर रामपुर आउनुभएका आर्यभञ्ज्याङ्ग पाल्पाकी नारायणी भट्टराई डुङ्गै नचढीकन त्यसै फर्कनुभयो । 

“लामो समयसम्म डुङ्गा नै बन्द गर्दा टाढाबाट आउने आन्तरिक पर्यटकलाई सकस भएको छ, निर्माण कार्यलाई दु्रत रुपले अगाडि बढाउनुपर्ने देखियो, काम अलि सुस्त भएको हो कि जस्तो लाग्यो,” उहाँले भन्नुभयो ।

कृत्रिम ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी तालमा परिणत गरिएको हो । अहिलेसम्म साढे दुई करोड रुपैयाँभन्दा बढीको काम भइसकेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजीकै बहेको कालीगण्डकीबाट लिफ्टिङ् गरेर पानीको व्यवस्थापन गरिएको छ ।

डुङ्गा सञ्चालनबाट यहाँका आठ जनालाई रोजगारी मिलेको छ । प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी हुने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउनुहुन्छ । 

तालपोखरामा राखिएको माछाबाट पनि आम्दानी भइरहेको छ । भरिएको पानी सुकाएर अहिले माछा निकाल्ने काम भइरहेको छ । हाल देनिक चालीसदेखि पचास किलो माछा बिक्री हुने गरेको छ । माछाका कारण पनि काममा ढिलाइ भएको हो ।                                          

दुई वटा काठको मात्र डुङ्गा सञ्चालन भइरहेकामा  पछिल्लो समय पर्यटकको सङ्ख्या बढ्न थालेपछि दुई वटा र्याफ्टिङ डुङ्गा सञ्चालनमा ल्याइएको थियो । झण्डै ७० रोपनी क्षेत्रफलमा रहेको तालपोखरा पहिला पानी जम्मा हुने पोखरी थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!