पाल्पामा समृद्धिको झल्को

Posted on: 17 Jun, 2019

पवित्रा घिमिरे, असार २, रामपुर । पाल्पामा समृद्धिको महसुस विस्तारै हुन थालेको छ । ज्येष्ठ नागरिकका  लागि भत्ता वृद्धि भएसँगै खुशीले दङ्ग परेका ज्येष्ठ नागरिक मात्रै होइन दिनभरि खाली समय व्यतीत गरेका युवा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएपछि खुशी भएका छन् ।  शुरुमा गाउँमै आउँछ सिंहदरबार भन्दा दरबार आए पनि त्यस्तै हो  भनेका नागरिक अहिले भने विश्वस्त बनेका छन् ।

 निस्दी गाउँपालिकामा  टुकीमा जीवनयापन गरेका नागरिक गाउँपालिकाले सौर्यऊर्जा बाँडेपछि सहज सेवा महसुस गरेका छन् भने प्रदेश नम्बर ५ सरकारको पहलमा सौर्यबाटै जिल्लामा पहिलो पटक पानी तानेर खानेपानी सुविधा पुगेको छ ।

निस्दी तथा पूर्वखोला गाउँपालिकालगायत क्षेत्रमा घरघरमै पुगेर वृद्धभत्ता वितरण तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । निस्दी – ६ अर्चले पाल्पामा लाम बसेर चर्को घाममा भत्ता बुझ्दै आएका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता वितरण गर्न पाएकामा अत्यन्तै खुशी लागेको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिनुभयो । निस्दीमै आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रमअनुसार घरमै पुगेर स्वास्थ्य परीक्षण थालिएको छ ।

त्यस्तै पूर्वखोलामा पनि एक घर एक धारा कार्यक्रम लागु गर्न प्रदेश नम्बर ५ सरकारको सहयोग र  खानेपानी तथा सरसफाइ कार्यालय पाल्पाको समन्वयमा लिफ्टिङ खानेपानी योजनाको शिलान्यास गरिएको प्राविधिक शोभाखर अधिकारीले जानकारी दिनुभयो । स्थानीय पूर्णबहादुर सारुले लाम बसेर एउटै धारामा पानी भरेर खानुपर्ने समस्या समाधान हुने भएपछि खुशी लागेको बताउनुभयो । 

यस वर्ष सङ्घीय सरकारको  विकास योजनाअन्तर्गत गण्डकी प्रदेशको भिमाददेखि –प्रदेश ५ को पाल्पा रामपुर हुँदै अरुणखोलाको मोटरबाटो स्तरोन्नतका लागि रु पाँच करोड र  असेर्दी ताहँु झडेवा खैरेनी सडक निर्माणका निम्ति रु एक करोडसमेत विनियोजन गरिएको  प्रतिनिधिसभाका सदस्य दलबहादुर रानाले जानकारी दिनुभयो ।

कालीगण्डकी लिफ्ट खानेपानी योजनाका निम्ति पनि पहल हुने भएको छ । रामपुर नगरपालिका –१ र २ लाई खानेपानी सुविधा दिने गरी कालीगण्डकी नदीबाट पानी तानेर गाउँमा खानेपानी सुविधा दिने योजना रहेको सांसद रानाको भनाइ छ ।  यस्तै पाल्पाको राम्दीदेखि गैंडाकोटसम्म कालीगण्डकी जलयात्राको सम्भाव्यता अध्ययन गरिने भएको छ । यस क्षेत्रमा नियमित जलयात्राको केही दिनमा सम्भाव्यता अध्ययन गरेर यात्रासँगै सामान ढुवानी गर्न सहज हुनेछ । कालीगण्डकीको पानीमा जलयात्रा मात्रै नभएर स्टिमरलगायत साधनबाट सहज सेवा पु¥याउने उद्देश्य रहेको सांसद रानाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!