एक हजार शुल्क तिरेर खोला वारपार

Posted on: 14 Jul, 2019

असार २९, बेझाड । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् ।

हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवारका चुनावी एजेण्डामा समेटिन्छ । तर, पुल बनाउने कार्यमा भने कसैले चासो दिएको पाइँदैन । जोखिम मोलेरै पानीको बहाव बढेको खोलामा पसेर मोटरसाइकल बोकेर खोला वारपार गराएवापत रु ५०० देखि एक हजारसम्म शुल्क लिने गरेको स्थानीयवासी कृष्णबहादुर सुनारीले बताउनुभयो । “अति आवश्यक काममा निस्केका, बिरामी बोकेर आएका मोटरसाइकल जोखिम मोलेर बोकेर खोला तारिदिने गरेको छु”, उहाँले भन्नुभयो ।

पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट सात किमी दक्षिणमा रहेको यस खोलामा पुल नहुँदा वर्षायाम शुरु भएपछि सवारीसाधन नै ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती खेप्दै आइरहेको स्थानीय व्यापारी विजय सारुले बताउनुभयो । “सामान गाडीमा ओसारपसार गर्न, गाउँघरमा उत्पादित वस्तु बजार पु¥याउन खोलामा पुल नभएकै कारण बोकेर जीविका चलाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । सवारीसाधन ठप्प हँुदा उपभोग्य वस्तु महँगो मूल्यमा खरीद गर्न यस क्षेत्रका स्थानीयवासी बाध्य छन् ।

पैदलयात्रीका लागि झोलुङ्गे पुल रहे पनि यातायातका साधन वारपार गर्न पक्की पुल नबन्दा जोखिम मोलेरै सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता रहेको होम राईमगर बताउनुहुन्छ । यस खोलामा पक्की पुल नबन्दा निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेका सबै भाग, वडा नं ७ को ज्यामिरे र मित्यालका केही भेगका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ ।  

स्वास्थ्यचौकी तथा विद्यालयमा सौर्य उपकरण जडान

विद्युत्को पहुँच पुग्न नसकेको पाल्पाको रम्भा गाउँपालिकाले स्वास्थ्यचौकी तथा विद्यालयमा सौर्य उपकरण (सोलार) जडान गरेको छ । गाउँपालिकाको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, पिपलडाँडा स्वास्थ्यचौकी तथा हुँगी स्वास्थ्यचौकी, सानाहुँगी मावि फोक्सिङकोट, जनहित मावि हुमिन तथा श्रीकृष्ण गण्डकी मावि हुँगीमा सौर्यबत्ती जडान गरिएको हो ।

विद्युत्को पहुँच नपुगेका यस क्षेत्रमा संस्थागत सेवालाई प्रभावकारी, छिटोछरितो, आधुनिक प्रविधिबाट सेवाप्रवाह गर्न सोलार प्रणाली जडान गरिएको गाउँपालिकाले जनाएको छ । बिरामीको स्वास्थ्य उपचार, विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनेर सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

गाउँपालिकाले वैकल्पिक ऊर्जाको खोजी गर्दै यस वर्ष रु छ लाख रकमबाट विभिन्न सेवाप्रदायक संस्थामा सोलार जडान गरेको अध्यक्ष भण्डारी बताउनुहुन्छ । सोलार जडानपछि विद्युतीय उपकरणको प्रभावकारी र भरपर्दो प्रयोग हुने भएपछि यस क्षेत्रका स्थानीयवासीमा खुशीयाली छाएको छ । विशेषगरी स्वास्थ्य प्रयोगशाला, एक्सरे तथा अन्य विद्युतीय सामग्रीको सञ्चालनमा सोलार प्रणाली उपयोगी हुनेछ । 

यसैगरी यहाँका विद्यालयमा सोलार जडानपछि कप्युटर कक्षा, विद्युतीय हाजिरी मेसिन तथा इन्टरनेट सञ्चालनमा सहज हुनेछ । विद्यालयमा विद्युत् नहुँदा पनि विद्युतीय सामग्री सञ्चालन गर्न सकिने भएपछि शिक्षणकार्य प्रभावकारी हुने शिक्षक एवत सारुले बताउनुभयो । 

गाउँपालिकाले नेपालकै धार्मिक तथा पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत रम्भादेवी मन्दिरमा समेत सोलार जडान गरेको छ । मन्दिरको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन, भजनकीर्तन, पूजाआजा व्यवस्थापनका लागि सोलार जडान गरिएको हो । गाउँपालिकाले आगामी वर्षमा समेत वैकल्पिक ऊर्जाको खोजी र विस्तार गर्ने कार्यक्रम बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!