पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै

Posted on: 16 Feb, 2020

फागुन ४, पाल्पा | भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा  यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।  एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ ।   

तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ । एक  डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन पाउनेछन् ।

भ्रमण वर्षलाई सफल बनाउन र रामपुरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको  समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिनुभयो । “ताल वरिपरी डुङ्गामा दौडनु पर्नेछ, जस्ले छोटो समयमा ताल पार गर्छ उसलाई विजेता गराइनेछ, धेरैभन्दा धेरै पर्यटक रामपुर भित्र्याउन यो कार्यक्रम आयोजना गरेका हौँ” उहाँले भन्नुभयो ।

प्रतियोगितामा प्रथम हुनेले रु सात हजार, द्वितीय रु पाँच हजार, तृतीय पुरस्कार रु तीन हजार प्राप्त गर्नेछन्  । समितिले गतवर्ष पनि डुङ्गा दौड प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताका लागि अहिले तालपोखरा वरपरको वातावरण सरसफाइ गर्ने कामहरु भइरहेको छ ।

फागुन ९ गते शिवरात्री पर्वका अवसरमा डुङ्गा दौड र अन्य दिन रामपुर क्षेत्रका प्रचलित भजनकृत, पूजापाठ, सांस्कृतिक कार्यक्रम गरेर मनाइने तयारी रहेको समितिले जनाएको छ । रामपुर घुम्न आउने  तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने कमै हुन्छन् । यहाँ आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ ।

फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भए पनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ ।

यो वर्ष रामपुर नगरपालिकाले रु २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख सहयोगको रकमबाट तालपोखराको स्तरोन्नति गरिएको हो । करिब रु ४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भएको छ भने अब बाँकी अझै रु एक करोड २५ लाखको काम रहेको समितिले जनाएको छ । अहिलेसम्म तालपोखराको पर्यटन विकासमा करिब रु तीन करोडको काम भइसकेको छ । 

तालपोखरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै जाँदा यसले समग्रमा कालीगण्डकी बेँसी क्षेत्रकै पहिचान बढाएको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । “नगरपालिकाले पनि पर्यटन विकासका लागि विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, तालपोखराको विकास भएकै कारण धेरै पर्यटक रामपुर भित्रने गरेका छन्” उहाँले भन्नुभयो ।

तालपोखरा वरपर डुङ्गामा घुम्ने, तालको बीच भागमा रहेको जलेश्वर महादेवको मन्दिर दर्शन गरेर फर्कने गरेको पाइन्छ । कोही घण्टौँसम्म मन्दिर परिसरमा रहेको पार्कमा रमाएर फर्कने गर्छन् ।

तालपोखरामा सेल्फी जोन निर्माण गरिएपछि फोटो खिचाउनेको पनि भीड लाग्ने गरेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजिकै बहेको कालीगण्डकीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिएको छ । डुङ्गा सञ्चालनबाट स्थानीयलाई रोजगारीको अवसर मिलेको छ ।  

दैनिक डुङ्गाबाट सरदरमा रु पाँच हजार आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी भइरहेको छ ।

सामान्य वर्षाद्को पानी जम्मा हुने खाडलका रुपमा रहेको तालपोखरालाई यहाँका स्थानीयले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हुन् । झण्डै ७० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र पहिला पानी जम्मा हुने खाडलका रुपमा रहे पनि अहिले भने प्रशस्त आम्दानी गर्ने गतिलो माध्यम बनेको छ ।

महायज्ञबाट केही आम्दानी सङ्कलन गरी विसं २०६६ बाट पर्यटन विकासका काम थालनी गरिएको संस्थापक अध्यक्ष देवराज देवकोटा बताउनुहुन्छ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका आन्तरिक पर्यटक यहाँ अवलोकन गरेर फर्कने गरेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!