पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि नै आन्दोलनमा

Posted on: 28 Jun, 2018

असार १४, पाँचथर | जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । 

स्थानीय तहको निर्वाचन भएको ६ महिना बितिसक्दा पनि केन्द्रको टुंगो नलागेपछि गत पुस १४ गते मतदान गरी फाल्गुनन्द–३ कोल्वुङका पक्षमा मत जाहेर गरेका जनप्रतिनिधिले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा घुर्विसे पञ्चमीमै केन्द्र सञ्चालन गरिरहेको भन्दै आन्दोलित भएका हुन् । 

वडा नं १ का अध्यक्ष होमप्रसाद आङदेम्वे, वडा नं २ का अध्यक्ष बहादुरसिंह नेम्वाङ र वडा नं ४ का अध्यक्ष मनबहादुर चेम्जोङले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै बहुमतले निर्णय गरेको कोल्वुङमा गाउँपालिका केन्द्र नसारिए कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिने बताउनुभयो । उनीहरूले जितेन रोशन आङदेम्वे संयोजक रहेको संघर्ष समिति पनि गठन गरेका छन् । 

जनप्रतिनिधिहरूले गाउँपालिका केन्द्र कोल्वुङ सार्न दबाबमूलक कार्यक्रमसँगै उच्च अदालत इलाममा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँ कार्यपालिकालाई विपक्षी बनाएर मुद्दा हाल्ने तयारी भइरहेको बताउनुभयो । 

हाल फाल्गुनन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमीमा सञ्चालन भइरहेको छ । 

गत पुस १४ गते गरिएको मतदानमा घुर्विसेका पक्षमा १८ र कोल्वुङका पक्षमा १९ मत परेपछि मतदानमा बहुमतले गरिएको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएका छन् । गाउँपालिका अध्यक्ष अम्बरबहादुर नेम्वाङले प्राविधिक कारणले केन्द्र सार्न ढिलाइ भइरहेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!