केन्द्रीय प्रसारण लाइनमा छ मेगावाट विद्युत् थप

Posted on: 20 Jan, 2017


माघ ७, पाँचथर । कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

बिहीबार साँझबाट केन्द्रीय प्रसारण लाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारण लाइनका आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए। यसअघि पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित १० मेगावाट विद्युत् त्यसै खेर गइरहेको थियो ।

दश मेगावाटमध्ये ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिएको हो । झापाको दमकदेखि पाँचथर र ताप्लेजुङको सिमाना कावेलीको दुविचौरसम्म ९० किलोमिटर प्रसारण लाइन रहेको छ । त्यसअन्तर्गत चारवटा सवस्टेसन रहेका छन् । 

फिदिमको थापाटारमा जोडिएको सवस्टेसनसँगै अहिलेसम्म तीनवटा स्टेसनको काम सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको द्विवेदीले बताए।

उक्त प्रसारण लाइनमा २५८ वटा टावर निर्माण हुनेछन् । दमकदेखि गोदकसम्म ९५ वटा टावर र गोदकदेखि अमरपुरसम्म ९५ वटा टावर निर्माण भइसकेको छ । २०६७ जेठ १४ गतेबाट मात्रै आयोजनाको काम अघि बढेको हो । 

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको तीन अर्ब ५९ करोडको लागतमा सो आयोजनाको काम अगाडि बढाइएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!