पाँचथरका निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

Posted on: 29 Aug, 2018

भदौ १३, पाँचथर | पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । 

जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग गरेबापतको तिर्नुपर्ने रकम अहिलेसम्म नतिरेको कन्स्ट्रक्सनका प्रोपाइटर शङ्कर थापाले बताउनुभयो । 

आफूहरूसँग सम्झौता हुनुपूर्व पनि हाइडोपावरले जिससलाई दिनुपर्ने बक्यौतासमेत दिनुपर्ने भए पनि त्यो नदिएको र अहिले ठेक्का सम्झौतापछिको करको रकमसमेत नदिएको उहाँले बताउनुभयो । 

जिल्लामा निर्माणाधीन अवस्थामा रहेका माउन्टेन हाइड्रोपावर कम्पनी, हेवा हाइड्रोपावर ए, काबेली हाइड्रोपावर बी, रैराङ हाइड्रोपावरले अझैसम्म बालुवा, गिटी र ढुङ्गाको स्थानीय कर नबुझाएको थापाले बताउनुभयो । पटक–पटक ताकेता गर्दासमेत कर तिर्न आलटाल गरिरहेको उहाँको भनाइ छ । अब आगामी तीन दिनभित्र कर नबुझाएमा सम्पूर्ण काममा बाधा अवरोध पुर्याउन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् । यता रैराङ हाइड्रोपावरका प्रबन्ध निर्देशक कुवेरमणि नेपालले कर तिर्ने हो, तर यसको संयन्त्रमार्फत् तिर्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!