पाँचथरमा २ परिवारको ९ जनाको विभत्स हत्या

Posted on: 21 May, 2019

 कमल घिमिरे।जेष्ठ७।पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा २ परिवारको ९ जनाको  विभत्स हत्या भएको छ भने एक बालिका घाइते भएकी छिन् ।

 मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा धनराज शेर्माको परिवारको ५ जना र बमबहादुर फियाकको परिवारको ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिनुभयो ।

 धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको वडाध्यक्ष हस्तराज जानकारी दिनुभयो । मृत्यु हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्र्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीन्दाले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

 घटनास्थलमा दशमीबजारमा रहेको प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ९ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिनुभयो ।

 घटना के कारणले भएको हो भन्ने कारण अहिले सम्म खुल्न नसकेको पाँचथर प्रहरिले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!