पाँचथरमा ९ जनाको हत्याराले गरे आत्महत्या, बाच्न सफल बालिकाले दिएको हुलियाबाट पहिचान

Posted on: 21 May, 2019

जेठ ७, काठमाडौँ | पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा गएराति दुई परिवारको ९ जनाको हत्या गरेर हत्याराले आत्महत्या गरेको खुलेको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले साझा सबाललाई दिएको जानकारी अनुसार संदिघ्द व्यक्ति मिक्लाजुङ–८, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् ।' घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया मोखिमकै थियो । 

अध्यक्ष माखिमका अनुसार ति झुन्डिएर आत्महत्या गर्ने व्यक्तिको कपडामा रगतका टाटाको साथै खुकुरी समेत फेला पारिएको छ  । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरेपछी मात्र थप जानकारी दिन सकिने उनले बताएका छन् । उनले ९ जनाको हत्या गरेर आफै आत्महत्या गरेको आशंका लागेको बताएका छन्  । झुन्डिएर आत्महत्या गर्ने व्यक्ति मान बहादुर माखिम रहेको उनले बताए । 

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारको ९ जनाको हत्या भएको थियो । उक्त घटनामा ७४ वर्षका बमबहादुर फियाक र ४१ वर्षका धनबहादुर शेर्माको परिवारका ९ जनाको हत्या भएको थियो  । एक बालिका भने भाग्न सफल भएकी थिइन् ।

गाउँपालिका अध्यक्षका अनुसार सोमबार राति घटना भए पनि प्रहरी विहानमात्र घटनास्थल पुगेको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले भने 'मलाई पनि आज बिहान मात्र थाहा भएको हो । हामीले अहिले एक जना व्यक्तिले झुन्डिएर आत्महत्या गरेको देखेका छौं । यिनैले हत्या गरेर यहाँ आई आत्महत्या गरेको हुन सक्ने आशंका छ ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!