राष्ट्रियसभा अध्यक्षलाई गृह जिल्लामा भब्य स्वागत

Posted on: 20 Mar, 2018
चैत्र ०६,पर्वत। संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुग्नुभएका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत भएको छ । जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले खुसीयाली साथ अध्यक्ष तिमिल्सीनालाई भब्य रुपमा स्वागत गरेका हुन् । 
उहाँलाई जन्मगाउँ मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरिएको थियो भने कुस्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्मानसमेत गरिएको थियो । मोदीगाउँपालिका वडा नं ७ वडा कार्यालय र स्थानीय नागरिक समाजको आयोजनामा बाजागाजा र दिपावलीसहित जन्मस्थानमा स्वागत र सम्मान गरिएको छ । राम्जादेउरालीका तत्कालिन गाविस अध्यक्षसमेत रहेका तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्नु गाउँसबासीका लागि सबैभन्दा ठूलो उपलब्धी र खुसीको क्षण भएकाले स्वागत भएको हो ।
अध्यक्षले जन्मगाउँ सँगै मोदी गाउँपालिकाले कार्यालय र जिल्ला समन्वय समिति पर्वतले पनि कार्यालयमा भब्य स्वागत तथा सम्मान गरेका छन् । उहाँ तत्कालिन जिल्ला विकास समितिमा २०५४ देखि २०५९ सम्म तिमिल्सीना सभापति हुनुहुन्थ्यो ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आफू विकास निर्माण गर्ने जिम्बेवारीमा नपुगेपनि पर्वत जिल्ला सधै प्राथमिकतामा रहने बताउनुभयो । ‘म अहिले विकास निर्माण गर्नेभन्दा कानुन निर्माण गर्ने निकायमा छु’ उहाँले भन्नुभयो, ‘मैले जिल्लाको विकास निर्माणलाई कसरी सहयोग पुर्‍याउन सक्छ सधै प्रयत्नशील रहनेछु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!