पर्वत काँग्रेसको जागरण अभियान फलेवासको खानीगाउँमा  

Posted on: 01 Jun, 2019

पर्वत– नेपाली काँग्रेस पर्वतको जागरण अभियान कार्यक्रम आज पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा गरिएको छ ।
फलेवासमा भएको जनजागरण अभियानमा कार्यकर्ताहरुले पार्टिलाई सुधार्न विभिन्न सुझाव दिएका छन् भने केन्द्रिय प्रतिनिधी र जिल्लाका नेताहरुले सुझावहरु संकलन गर्दै आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले नेपाली काँग्रेसलाई सुधार्न गाउँ गाउँबाट कार्यकर्ताहरुले दिएका सुझाव ग्रहणयोग्य रहेको बताउनुभयो । उहाँले पार्टिलाई नयाँ दिशा र उर्जा दिनकै लागि जागरण अभियान शुरु भएको बताउनुभयो ।

नेपाली काँग्रेसलाई वदनाम गर्न कम्यूनिष्टहरुले जति सुकै प्रपञ्च रचेको भएपनि काँग्रेस कहिल्यै बिचलित नहुने श्रेष्ठले बताउनुभयो । उहाँले वर्तमान सरकार वहुमतको दम्भले जनताकै विरुद्ध विभिन्न गलत निर्णय गर्दै आईरहेको बताउँदै सरकार देशको विकास र समृद्धि भन्दा आफु र आफ्नै आसेपासेको भरणपोषणमा मात्रै केन्द्रित भएको बताउनुभयो । सत्ताको दुरुपयोग गर्दै आएको सरकारका बिरुद्ध आफुहरु सडक र सदनमा उत्रिन बाध्य भएको केन्द्रिय सदस्य श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति खिमप्रसाद भुसालले नेपाली काँग्रेसमा भवनात्मक एकता बढाउन र पार्टिका कार्यकर्ताहरुमा झनै उर्जा थप्न जागरण अभियान सफल भएको बताउनुभयो । पूर्व साँसद एवं नेपाली काँग्रेसका महासमिति सदस्य ऋषिकेश तिवारीले पार्टिलाई एक ढिक्का बनाउने जिम्मा सबै कार्यकर्ता र नेताहरुको भएको बताउनुभयो । उहाँले हरेक निरकुँशताका बिरुद्धमा लड्दै आएको काँग्रेस वर्तमान ओली सरकारको विरुद्ध पनि डटेर लड्ने बताउनुभयो । कार्यक्रममा काँग्रेस नेतनबराज गुरुङ ा, राजेन्द्र तिवारी, राम शर्मा पौडेल, सिता काफ्ले लामिछाने, बसन्तबहादुर सिके, मिना केसी लगायतको पनि सहभागिता थियो ।

जिल्ला सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य गंगाधर तिवारीले स्वागत मन्तव्य, महासमिति सदस्य राधाकुमारी क्षेत्रीले विषय प्रबेश गराउनुभयो । कार्यक्रमको सञ्चालन महाधिबेशन प्रतिनिधी तथा दलित संघका केन्द्रिय सदस्य जितवहादुर सुनार, शेरवहादुरले गर्नुभएको थियो भने नेपाली काँग्रेस फलेवास नगरपालिकाका संयोजक हिरामणी सापकोटाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!