कृषिमा आकर्षण वढ्दो,पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार

Posted on: 21 Jul, 2017

    रोशन तिवारी,पर्वत

पर्वतमा तरकारी खेतीको क्षेत्र विस्तार भएको छ । कृषकहरुले पछिल्लो समय धान, कोदो र मकै हुने क्षेत्रमा तरकारी लगाउन थालेपछि खाद्यन्नको क्षेत्र घटेर तरकारीको क्षेत्र वढेको हो । आर्थिक वर्ष २०७३÷ ०७४ मा तरकारी खेती गर्ने जमिन साढे ३ प्रतिशत वढेको छ ।  अघिल्लो वर्ष ६७८ हेक्टर रहेको तरकारीको उत्पादक क्षेत्र अहिले ७ सय २० हेक्टर पुगेको कृषि कार्यालयले जनाएको छ । क्षेत्रफल वढेपछि उत्पादन र उत्पादकत्व पनि वढेको छ । पर्वतमा कृषकहरु तरकारीमा हौसिएर लागेपनि पर्वत जिल्ला तरकारीमा भने परनिर्भर नै रहेको छ । तरकारीको कुल मागको ११ प्रतिशत अझै कमी रहेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।  दैनिक ३ सय ग्राम प्रतिव्याक्ति तरकारीको माग रहेको पर्वतमा वाहिरी जिल्लावाट हुने आयातलाई प्रतिस्थापन गर्न भने अझै २ वर्षजति कुर्नुपर्ने देखिएको रेग्मीले वताउनुभयो ।

आर्थिक वर्ष २०७३÷ ०७४ मा जस्तै तरकारीको उत्पादन र उत्पादकत्व वढ्ने हो भने २ वर्षमा पर्वतलाई तरकारीमा आत्मानिर्भर वनाउन सकिने उहाँले वताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा उत्पादन हुने काउली, गोलभेँडा, आलु, भिण्डी, वोडि जस्ता तरकारी वाहिरी जिल्लामा निर्यात हुने गरेको छ । रेग्मीले भन्नुभयो–‘वेमौसमी काउली, भेडे खुर्सानी र हिउँदमा अन्य जिल्लावाट आयात गर्नुपर्ने वाध्यता छ , । ‘हामीले उत्पादन गर्ने तरकारी हामी आफैँलाई पुग्दैन हामीले अझै मिहेनत गर्नुपर्छ, उहाँले भन्नुभयो ।   क्याङ, वनौँ र भोक्सिङमा यो वर्ष बर्खे आलुको उत्पादन राम्रो भएका कारण निर्यात दर वढ्ने देखिएको छ । ‘मिहेनत गर्ने भने आलुवाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने देखिएको छ, ‘अहिले वर्खे आलु साह्रै रहर लाग्दो देखिएको छ,‘रेग्मीले भन्नुभयो ।

 पर्वतमा अझै कृषिलाई व्यवसायिक वनाउन सकिएको छैन । व्यवसायिक उन्मुख ४१० जना कृषकहरु रहेका छन् ।  पर्वत जिल्ला खाद्यन्न, आलु, चालिस दिने मुला, र भक्तपुरे लोकल काक्रोमा आत्मानिर्भर रहेको छ । कृषकहरुलाई कृषि कर्ममा उत्प्रेरित गर्न कृषि कार्यालयले अनुदान, विउ विजन, ढुवानी सेवा, यान्त्रीकरणका लागि यान्त्रिक हलो, प्राविधिक सल्लाहहरु बेला बेलामा उपलब्ध गराउँदै आएको छ । प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना शुरु भएपछि कृषकहरुमा थप हौसला वढेको छ । पर्वतको कृषिलाई परम्परागत र निर्वाहमुखीवाट व्यवसायिक वनाउन हरतरहले पहल भैरहेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले वताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!