पर्वतका कृषकले चैतेधानको अनुदान पाएनन्

Posted on: 11 Apr, 2018

चैत २८ पर्वत | चालु आर्थिक वर्षमा कृषितर्फ विनियोजित बजेट जिल्लाको पैयुँ गाउँपालिकाले अन्य शीर्षकमा लगानी गरेपछि किसानले यस वर्ष चैतेधानमा अनुदान पाउन सकेका छैनन् । 

चालु आवमा वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि किसान अनुदान पाउनबाट वञ्चित भएका हुन्। 

पैयुँका भोर्ले, सरौंखोला, हुवास, त्रिवेणी, बेउलीवास र टकलाकका किसानले चैतेधान लगाउँदैआएका छन्। कृषि तथा सहकारी मन्त्रालयमार्फत गत वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले चैतेधानलाई प्रोत्साहन गर्न प्रतिरोपनी रु २५० का दरले बीउ र मलमा अनुदान दिँदैआएको थियो। 

अनुदान कार्यक्रममार्फत अघिल्लो वर्ष जिल्लाभर रु पाँच लाख रकम वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । “हामीले केन्द्रीय कार्यक्रम स्थानीय तहमा पठाएकै हो,” उहाँले भन्नुभयो । 

जिल्लामा सबैभन्दा बढी चैतेधानको खेती पैयुँमा हुन्छ। पैयुँबाहेक फलेवास, कुश्मा र जलजलाको केही क्षेत्रमा चैतेधान फल्छ । किसानले सीएच–४५ जातको चैतेधान लगाउँदै आएका छन् । गत वर्ष सात रोपनी खेतमा चैतेधान लगाएकी पैयुँ–३ बेउलीवासकी भीमा बस्यालले अनुदान रोकिएपछि यस वर्ष चार रोपनीमा मात्रै लगाएको बताउनुभयो । 

गाउँपालिकाले अनुदान रोकेपछि किसानले चैतेधान फल्ने खेतमा मकै लगाएका छन् ।

 पर्वतको २८ हजार ६०० हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टरमा वर्षे र सात सय हेक्टरमा चैतेधानको खेती हुन्छ। बाह्रै महिना सिँचाइ हुने सबै खेतमा चैतेधानको खेती विस्तार गर्ने योजनास्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि कार्यक्रम नै प्रभावित भएको छ । 

पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी अघिल्लो वर्षको गाउँसभा हतार र विषयविज्ञको अनुपस्थितिमै गर्नु परेकाले कृषिलगायत विषयगत विकास बजेटमा कमजोरी भएको बताउनुहुन्छ । आगामी वर्षदेखि प्रोत्साहनमूलक अनुदानका कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!