पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय

Posted on: 14 Oct, 2019

असोज २७, पर्बत | पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय छन् । जलजला–५ लेखफाँटका बासिन्दा किवी खेतीमा लागेका हुन् । स्थानीयवासी यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किवी रोपेपछि गाउँभरिमा अहिले व्यावसायिक खेती विस्तार गर्नेको बढेका छन् । सुवेदीसहित कृष्णबहादुर रन्तिजा, प्रेम पुन, नरबहादुर पुन, बनबडेका हर्कबहादुर पुन, लेखबहादुर फगामीसहित ५० परिवारले किवी खेती गर्न थालेका हुन् । 

एक पटक लगाएपछि करीब ४० वर्षसम्म निरन्तर आम्दानी दिने किवीको बजार मूल्य पनि उच्च छ । प्रतिकिलो रु अढाई सयदेखि छसय रुपैयाँसम्ममा बिक्री हुने किसान बताउँछन् । किसानले हेवाड, रेड, आलिसन र बुर्नो गरी चार जातका किवी लगाएका छन् । कृष्णबहादुर रन्तिजाले पनि पाँच रोपनीमा किवी लगाउनुभएको छ । विसं २०६९ देखि व्यावसायिक खेती गर्दै आउनुभएका रन्तिजाले बर्सेनी रु चारदेखि पाँच लाख आम्दानी गर्दै आएको बताउनुभयो । पछिल्लो समय जलजलाको बाँसखर्क, शालिजा, लेखफाँटमा किवीको क्षेत्रफल विस्तार हुँदै गएको कृषिज्ञान केन्द्र पर्वतले जनाएको छ ।

बाँसखर्कमा सोमबहादुर तिलिजा, सालिजामा हेमबहादुर पुन, मायादेवी रेग्मी, पूर्णहरि रेग्मी लगायतले किवीको व्यावसायिक खेती गर्नुहुन्छ । सात वर्षमा जलजलामा मात्रै ५० हजार बिरुवा खपत भएको कृषिज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । रेग्मीले मानव शरीरलाई धेरै पौष्टिक तत्व दिने भएकाले किवीको मूल्य र बजारमा माग बढ्दै गइरहेको उहाँले बताउनुभयो । किवीको नियमित प्रयोगले उच्च रक्तचाप रोक्नाका साथै ज्यान फुर्तिलो बनाउने, मुटुरोगी लगायतका लागि फाइदा पुग्ने उहाँले बताउनुभयो । जलजला गाउँपालिकाले किवीको व्यावसायिक खेती गर्ने किसानलाई अघिल्लो वर्षदेखि सहयोग गर्दै आएको छ । किवीको सम्भावना राम्रो भएकाले गाउँपालिकाले प्रोत्साहन गर्ने नीतिअनुसार सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । 

यस्तै मोदी गाउँपालिकाको चित्रे, राम्जा र भुकदेउराली, महाशिला गाउँपालिकाको फलामखानी र भोक्सिङ, कुश्मा नगरपालिकाको दुर्लुङ लगायतका ठाउँमा पनि व्यावसायिक किवीको विस्तार हुन थालेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!