इलाका ३ र ४ को इलाका गोष्ठि सम्पन्न ,सडक पूर्वधारमा प्रथाकिता

Posted on: 20 Jan, 2017

महेन्द्र केसी पर्वत, पर्वतको ईलाका नम्बर ३ र ४ को ईलाकास्तरिय गोष्ठि विहिबार डिमुवा बजारमा सम्पन्न भएको छ । इलाका गोष्ठिमा सहभागी रहेका ६ गाउँविकास समितिले बढीमात्रमा सडकको विकास र झोलुङ पुल निर्माण तथा मोटरवल पुलको माग गरेका छन् ।

 राज्यको पुर्नसंरचना अन्तरगत मोदी गाउँपालीमा समेत पर्ने उक्त क्षेत्रको विकासको लागि स्थानीय गाउँविकास समितिले सडक, खानेपानी र सिचाईलाई विशेष प्रथामिकतामा पारेका छन् । बाजुङ, देउपुर र देउराली गाउँविकास समितिले पातीखोलाका तटबन्धलाई संयुक्त रुपमा प्रस्ताबमा पारेका छन् । गत  असारमा आएको पातीखोलाको बाढीले स्थानीयबासीको सयौ रोपनी जग्गा बगरमा परिणत गर्नुको साथै आसपासमा रहेका माछापोखरी, घर तथा हाइड्रोपावरमा समेत क्षती पु¥याएको थियो ।

ईलाका नम्बर ३ र ४ मा पर्ने बाजुङ, देउराली, क्याङ, भुकताङ्ले, देउपुर, तिलाहार र चित्रे गाविसवाट विभिन्न खालका योजनाहरु एकिकृत ईलाका गोष्ठि मार्फत प्रस्ताव गरिएको छ । प्रस्ताबमा बढीमात्रका सडक विकास र विस्तार, खानेपानी योजना, सिचाइको माग बढी रहेको छ ।

धेरै जसो मोटरवाटो, गोरेटोवाटो, विद्यालय, पर्यटन लगायतका क्षेत्रका योजना छनौट गरिएको छ । गाविस सचिवहरुले गाउँ परिषद मार्फत पुरा आर्र्थिक कमीका कारणले पुरा हुन नसक्ने योजनाहरु जिल्ला तथा केन्द्रिय स्तरमा माग गर्नको लागि उक्त इलाका गोष्ठिमा माग गरेका थिए ।

सचिवहरुले प्रस्तुत गरेका योजनाहरुलाई एकिकृत गरि साझा योजनाहरु छनौट गरिएको छ । जिल्ला विकास समितिका योजना शाखा अधिकृत देवी शर्माले उक्त कार्यक्रमको सहजीकरण गरेकी थिइन् । उनले दिगो र आयआर्जन गर्ने खालका योजना छनौट गर्न आग्रह गरिन् । योजना छनोट गर्दा बढी मात्रमा समुदायहरु लाभान्वीत हुने खालका योजनाहरु ल्याउनको लागि उनले आग्रह गरिन् ।


कार्यक्रममा इलाका ३ र ४ का स्थानीय राजनीतिक दल तथा जिल्ला स्थीत राजनीतिक दलहरुको प्रतिनिधि, विभिन्न सञ्जाल तथा गैरसरकारी निकायका प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागितामा गोष्ठि मार्फत योजना छनौट गरिएको हो । 

कार्यक्रममा बोल्ने राजनीतिक दलहरुले जिल्लाको विकास हुन नसक्नुको जिम्मेवारी राजनीतिक दलहरु स्वयमले लिनुपर्ने स्वीकार गरेका छन् । इलाका ३ र ४को इलाका गोष्ठि तथा योजना तर्जुमा कार्यक्रममा बोल्ने राजनीतिक दलहरुले जिल्लाको विकास हुन नसक्नुको दोष जिल्ला विकास समिति र राजनीतिक दलहरुले लिनुपर्ने बताए । 

इलाका गोष्ठि श्राद्ध गर्नेबेलामा विरालो बानेको जस्तो भएको र दलीय समयन्त्रका आधारमा जिल्ला परिषद सम्पन्न हुने र दलीय भागवण्डाका आधारमा योजनाहरु छनोट हुने गरेकोले जिल्लाको विकास हुन नसकेको स्थानीय राजनीतिक दलहरुले स्वीकार गरेका हुन् ।

इलाका गोष्ठि तथा योजना तर्जुमा कार्यक्रममा बोल्ने जिल्लाका प्रमुख राजनीतिक दलहरुका प्रतिनिधिहरुले जिल्लामा विकासका योजनाहरु तयार पार्दा जनताको आवश्यकता अनुसार भन्दा पनि राजनीतिक भागबण्डाका आधारमा हुने गरेको र त्यो पनि दलभित्रका गुटका आधारमा विकासका योजनाहरु परिषदमा पारित हुने गरेको भन्दै अब त्यसो हुन नदिने भन्दै नेपाली काँग्रसका जिल्ला सचिव विश्वप्रकाश प्रसाइले बताए ।

उनले हिउँदको समयमा जिल्ला विकास समिति योजनाहरुको कार्यान्वयन र अनुगमन गर्नको लागि पहल गर्नुको सट्टा बर्षायाम शुरु भएपछि सम्झौता गर्ने र अनुगमनको नाममा झार टार्ने र हतारहतारमा काम गर्नको लागि रकम विनियोजन र पारित गर्ने नाउमा कमिशन खाने प्रचलन चलिआएको आरोप लगाए ।

हिउँदमा घाम तापेर बस्ने, जब बर्षा शुरु हुन्छ योजनाहरु भकाभक पास हुन्छन्, रकम फस्यौट गरिन्छ हतारहतारका काम गरेजस्तो गर्ने आधा योजनामा आधा कमिशनमा चल्छ उनले भने ।

नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुवँरले इलाका गोष्ठि श्रद्धा गर्नेबेलामा विरालो बाँधेको जस्तो भएको बताए । उनले जिल्ला परिषद सम्पन्न गर्नको लागि मात्रै इलाका गोष्ठिको आयोजना गरिने गरेको भन्दै इलाका गोष्ठिले तमाब जिल्लाबासीको भन्दा पनि दलहरुको एजेण्डा समावेश र प्रथाकितामा राखेको बताए ।

नेकपा माओवादी केन्द्रका मनबहादुर पौडेलले इलाका गोष्ठिमा गाउँविकास समितिबाट आएका योजनाहरु संकलन गर्ने तर जिल्लामा पुगेपछि त्यसलाई रड्डीको टोकरीमा हाल्ने र जिल्लाका प्रमुख राजनीतिक दलहरुको भागबण्डाको आधारमा योजनाहरु तयार हुने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!