मोदीखोलामा पुल निर्माण कार्य ठप्प

Posted on: 28 Jan, 2017

माघ १५, पर्वत । पर्वतको सदरमुकाम नजिकै मोदीखोलामा निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । 

कुल रु तीन करोड ५० लाखको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा रहेका मठ, मन्दिर, पाटीपौवा र वृद्धाश्रममा समेत क्षति पुग्ने भन्दै उनीहरुले अवरोध गरेका हुन् । उक्त ठाउँमा मोटरेबल पुल निर्माणले पुरातात्विक संरचना ध्वस्त हुने र मोदीबेनी धामको अस्तित्व समेत समाप्त हुने उनीहरुको भनाइ छ । 

उनीहरुले प्रस्तावित नक्साङ्कन भएको ठाउँबाट करिब २०० मिटर पूर्वपट्टि मल्याङ्दी खोला नजिक पुल निर्माण गर्न भन्दै मन्त्रालयमा समेत निवेदन दिएका छन् । 

उक्त पुलको दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरी काम अगाडि बढाइएको थियो । पुलको लम्बाइ १४० मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको थियो । 

अहिले बन्न लागेको मोटरेबल पुलले मोदीबेनी धाममा केही असर नगर्ने बताउँदै पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले विकास निर्माणमा समेत राजनीतिक खिचातानी गर्ने परिपाटी हाबी गुनासो पोखे । निकै कष्टपूर्ण तवरबाट पुल निर्माणको लागि बजेट विनियोजन गरिएको र राष्ट्रिय गौरवको आयोजनामा अवरोध आउनु दुःखद् भएको उहाँले बताउनुभयो । 

उक्त ठाउँमा पुल निर्माण सम्पन्न भए लोकमार्गले छोएका तथा नजिक पर्ने दर्जनौँ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिले कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–कुश्मा सडकखण्डको ट्र्याक खोल्ने काम भइरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!