पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाद्वारा संयुक्त वैकल्पिक सडक निर्माण सुरु

Posted on: 27 May, 2018

जेठ १३, फलेवास (पर्वत) | प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् । 

प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक निर्माण कार्य थालिएको हो । उक्त सडक बनेपछि स्थानीय तहलाई आत्मनिर्भर बनाउन र पोखरासम्मको घुमाउरो सडकको विकल्प बन्ने ठानिएको छ । दुवै नगरपालिकाका मुख्य बस्ती जोड्ने उक्त सडकखण्ड निर्माणसँगै नगरपालिकाले आ–आफ्नो क्षेत्रभित्र योजना अघि बनाएका छन् । 

नयाँ सडकको लम्बाइ ५७ किलोमिटर छ । जैमिनी–कुश्मा १४ र कुश्मा–पोखरा ५८ गरी कूल ७२ किलोमिटरको यात्रा ५७ किलोमिटरमा छोट्टिने भएपछि यात्राको दूरी पनि घट्छ । “फलेवास–दोबिल्ला ११ र दोबिल्ला पोखरा ५४ गरी ६५ किलोमिटरको यात्रा अब ५३ किलोमिटरमै छोट्टिएपछि फलेवासवासी कुश्मा पुग्ने कष्ट गर्नु परेन”, फलेवासका नगरप्रमुख पदमपाणि शर्माले भन्नुभयो । यो सडकको ट्र्याक र स्तरोन्नतिका लागि फलेवास नगरपालिकाले यसै वर्ष रु ९० लाख बजेट विनियोजन गरी काम शुरु गरिसकेको छ । 

स्थानीय सरकारको स्रोत साधनको प्रयोग गरेर आफ्नै लगानीमा प्रदेश राजधानी जोड्ने छरितो बाटो बनाउँदा चौतर्फी लाभ लिन सकिने शर्माको भनाइ छ । सडकखण्डको ट्र्याक खोल्ने काम शुरु भइसकेको छ । दुवै नगरको साझेदारीमा हाल सडक स्तरोन्नति गर्ने क्रममा पर्वत खण्डमा पर्नेे देवीस्थान–खानीगाउँ–शंकरपोखरी–थापाठाना–कार्कीनेटा हुँदै स्याङ्जा जोड्ने काम शरु भइसकेको छ । यो सडक बाहै्र महिना चल्दा बाग्लुङको जैमिनीदेखिका सर्वसाधारण र व्यापारिक चाप फलेवासमा बढ्ने र यसले फलेवासलाई शहरीकरण गर्न सघाउने नगरपालिकाको अपेक्षा छ । 

बाग्लुङको जैमिनी नगरपालिकाले पनि नगरको केन्द्र कुश्मिशेराबाट सडक स्तरोन्नति गर्ने कार्ययोजना तय गरेको छ । नगर प्रमुख इन्द्रराज पौडेलका अनुसार सडक निर्माणका लागि बजेट विनियोजन भइसकेको छ । यो सडकलाई दुई जिल्लाका दक्षिणी क्षेत्रको आर्थिक समृद्धिसँग जोडेर हेरिएको छ । जैमिनी र फलेवासका बासिन्दा पोखरा पुग्नुपर्दा हाल कच्ची सडकबाट कुश्मा हुँदै जानुपर्ने बाध्यता हट्नेछ । 

कुश्मा–पोखराको वैकल्पिक सडक हालसम्म छैन । सदरमुकामसम्म घुमेर जाँदा सर्वसाधारणलाई समय र आर्थिक भार बढी पर्ने गरेको छ । यो सडकले पर्यटकीय शहर पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई फलेवास र जैमिनीमा भित्र्याउन पनि ठूलो भूमिका खेल्ने स्थानीयवासीको अपेक्षा छ । 

दुवै नगरपालिकाले सडकको न्यूनतम मापदण्ड पनि तोकिसकेका छन् । फलेवासका प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाका अनुसार सडकको मापदण्ड २२ मिटर तोकिएको छ । “मुख्य सडक १६ मिटर र दायाँ–बायाँ तीन÷तीन मिटर (सेटब्याक) रहनेछ”, उहाँले भन्नुभयो । सडकको स्तरवृद्धि र नयाँ ट्र्याक खोल्न उपभोक्ता समिति गठन गरी काम शुरु भइसकेको छ । जैमिनीघाटबाट शुरु भएको सडकले साबिकका एक दर्जन गाविसलाई समेट्छ । यसबाहेक स्याङ्जा र बागलुङका दुई स्थानीय तहले समेत लाभ लिन सक्नेछन् । सडक विस्तारपछि ग्राभेलिङ, दुवैतर्फ नाली र रिटेनिङ वाल लगायतका योजना रहेको नगरपालिकाले जनाएको छ । बागलुङको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिकाका बासिन्दालाई अहिले पोखरा पुग्न ४ घण्टा लाग्छ । यो सडक बनेपछि २ घण्टामै पोखरा पुग्न सकिनेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!